मुख्य समाचार

अमेरिकाको खोप लगाएका व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण देखिएपछि

By Thah Online

July 27, 2021

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताउनुभएको छ । उहाँले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोनाको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरिअन्ट’ बढिरहेको बताउनुभयो ।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताउनुभयो । उहाँले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने प्रकारका खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिनुभयो ।

अमेरिकामा हालसम्म जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन् । अमेरिकामा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने दैनिक करिब २५० को हाराहारीमा मृत्यु भएको तथ्याङ्क छ ।

न्यू योर्क टाइम्सले विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । अमेरिकामा हाल सम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ ।

अमेरिकामा दैनिक साढे पाँच लाख व्यक्तिका दरले कोभिड–१९परीक्षण गरिएको छ भने पछिल्ला दिनमा कोभिड परीक्षण गर्न अस्पताल जाने को सङ्ख्या १३ प्रतिशतले घटेको छ । अमेरिकामा अहिले २६ हजार ३०२ जना कोरोना सङ्क्रमितले अस्पतालमा भर्ना भई सेवा लिइरहेका बताइएको छ ।

अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ । जुलाई २६ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८।८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६।३ प्रतिशत पुगेको छ । ओएसनेपालबाट साभार