विश्वलाई चकित बनाउँदै नेपाली पौडी खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान



नेपालका पौडी खेलाडी शाह (एलेक्स) ले ओलम्पिकमा नयाँ इतिहास बनाएका छन् । उनी ओलम्पिकको इतिहासमा हिट चरण पार गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका छन् ।  

एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दै छन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८-८ खेलाडी रहेका छन् ।

शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो। नेपालमा भएको १३औँ सागमा उनले ५४:१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।

एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औँ दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए ।

पौडीमै गौरीका सिंहले भोलि प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । यसमा राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा रहेको छ । उनले नेपालगंजमा भएको आठौँ राष्ट्रिय खेलकुदमा ५९.६० सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् ।

नेपालबाट यसअघि  शनिवार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्। कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्