काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार कुराकानी भएको छ । कुराकानी टेलिफोनमा भएको हो ।
भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरस विरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।
उनीहरुबीच जलवायु परिवर्तन विरुद्धको लडाइँका विषयमा पनि कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।