आफूहरु जसपा मै रहेको महन्थ पक्षका सांसदको दावी



काठमाडौं । जसपाको आधिकारिकता सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुरको पक्षमा रहेका सांसदको अवस्था के हुने हो भन्ने चर्चा सुरु भएको छ । महन्थ ठाकुरको पक्षमा हालसम्म १२ जना सांसदमात्र देखिएका छन् । त्यसमा चार जना समानुपातिकका छन् ।

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मियाँ, लक्ष्मणलाल कर्ण, उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव प्रतिनिधि सभामा ठाकुर पक्षका प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

त्यसैगरी निर्जला राउत, चन्दा चौधरी, कल्लुदेवी विश्वकर्मा र दुलारी देवी खत्वेनी प्रतिनिधिसभा अन्तर्गत ठाकुर पक्षका समानुपातिक सांसद हुन् ।

कतिपयले ठाकुर पक्षमा रहेका समानुपातिक सांसदहरू संस्थापन पक्षको कारबाहीको भागिदार हुन सक्ने र समानुपातिक सूचीबाट नयाँ सदस्य चयन गरिने आङ्कलन गरिरहेका बेला जसपाले भने तत्काल कसैमाथि कारबाही नगर्ने प्रस्ट पारेको छ ।

राजनीतिक दल गठन ऐन अनुसार कुनै सांसद नयाँ पार्टी गठन प्रक्रियामा संलग्न भएमा उसको पद स्वतः जानेछ । त्यसैले ठाकुर पक्षका केही सांसदहरू कारबाहीको डरले वा सांसद पद जाने डरले उपेन्द्र यादवको पक्षमा जाने सम्भावना रहेको पनि जानकारहरू बताउँछन् ।

निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्न आदेश दिएको छ । नयाँ पार्टी दर्ता गराएपछि त्यसमा संलग्न हुने सांसदहरूको पद स्वतः जानेछ । नयाँ पार्टीमा संलग्न नहुनेहरू भने पार्टीले कारबाही नगरेसम्म जसपाकै सांसद मानिने छन् ।

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मियाँ, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउतले कार्यकारिणी सदस्यको हैसियतबाट निर्वाचन आयोगमा उपेन्द्र यादवको विपक्षमा हस्ताक्षर गरेका छन् । त्यसैले पनि उनीहरू उपेन्द्र यादवले आधिकारिता पाएको जसपा पार्टीमा छैनन् ।

उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा र दुलारी देवी खत्वेनीे कार्यकारिणी सदस्य होइनन् । त्यसैले नयाँ पार्टी गठन कार्यमा उनीहरू संलग्न नभएसम्म जसपाकै सांसदको रूपमा रहन पाउनेछन् । जसपाका अध्यक्ष उपेन्द्र यादव तत्काल महन्थ पक्षका सांसदलाई कारबाही नगर्ने मनस्थितिमा छन् ।

उनीहरू नयाँ पार्टीमा सामेल भएको अवस्थामा सांसद पद स्वतः जाने भएकाले अहिले कारबाही गरिरहन नपर्ने अध्यक्ष यादवको बुझाइ छ । जसपाको हित विपरीत कार्य गरेमा मात्र त्यस्ता सांसदमाथि कारबाही गर्ने अन्यथा कसैलाई कारबाही नगरिने जसपाका कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादवले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्