चन्द्रमामा जाने दौडमा सहभागी हुन बेजोसले गर्यो नासालाई २ अर्ब डलरको प्रस्ताव



विश्वचर्चित अमेजोन कम्पनीका मालिक, विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले चन्द्रमा मिसनको दौडमा आफ्नो स्थान पुनः फिर्ता पाउन नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन् ।

सोमबार उनले नासाका प्रमुख सञ्चालक बिल नेइलसनलाई खुला पत्र लेख्दै उक्त रकम प्रदान गर्ने प्रस्ताव राखेका हुन् ।

यसअघि नासाले बेजोसको ब्लु ओरिजिनको सट्टा टेस्लाका मालिक एलन मस्कको ‘स्पेस एक्स’ लाई चन्द्रमा मिसनका लागि छनोट गर्दै सम्झौता गरेको थियो । चन्द्रमामा अवतरण गर्ने मिसनका लागि सुरुवातमा नासाले दुई निजी कम्पनीलाई अन्तरिक्ष यान निर्माण गर्न प्रतिस्पर्धा गराउने उद्देश्य राखेको थियो । तर अप्रिलमा अकस्मात घोषणा गर्दै स्पेस एक्ससँग एकलौटी सम्झौता गर्ने बताएको हो ।

जसमा लागतलाई मुख्य कारण देखाइएको थियो । यो मिसनका लागि स्पेस एक्सले अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा अवतरण गराउन विशेष प्रणालीगत यान, ‘ह्युमन ल्यान्डिङ सिस्टम’ निर्माण गर्ने भनिएको छ । नासाको उक्त निर्णयपछि बेजोसको ब्लु ओरिजिन यो मिसनबाट पछि हटेको थियो ।

तर, अहिले भने उनले पैसा यसमा कुनै अवरोधक नबनोस् भन्ने सुनिश्चित गर्न २ अर्ब रकमको प्रस्ताव गरेका छन् । बेजोस केही समय अगाडि मात्र आफ्नो कम्पनीको यानमा छोटो समयका लागि ऐतिहासिक अन्तरिक्ष भ्रमणमा गएका थिए ।

नासाले २०२४ भित्रमा पहिलो महिला यात्रीसहित एक पुरुषलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ । यो भन्दा अगाडि १९७२ को अपोलो मिसनमा मात्र मान्छेले चन्द्रमामा पाइला टेकेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्