दुर्घटना

झापामा ट्रकको ठक्करबाट विष्ट दम्पतीको मृत्यु

By Thah Online

July 28, 2021

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक– ४ स्थित चियादोकान सडक खण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका– ३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । चालकले मापसे (मादक पदार्थ सेवन) गरेर कुदाएको ट्रक दुर्घटना हुँदा मङ्गलवार राति श्रीमान्–श्रीमतीको मृत्यु भएको हो ।

दु’र्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको ट्रकले पूर्व–पश्चिम लोक मार्गअन्तर्गत दमक नगरपालिका–४ मा राति १०:१० बजेतिर मोटरसाइकललाई ठक्कर दिएको कार्कीले बताए।

ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घ’ट’नाको अनुसन्धान थालिएको उनको भनाइ छ।