टप फिचर

परीक्षाअघि कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप दिन सरकारलाई शिक्षा समितिको निर्देशन

By Thah Online

July 28, 2021

काठमाडौँ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । बुधवार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न सुझाव दिएको हो ।

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना सङ्क्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै दिन पाउनेछन् । ‘४ लाख विद्यार्थी छन् । उनीहरूलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ समिति सभापति जय पुरी घर्तीले निर्णय सुनाउँदै भनिन् ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होम सेन्टरबाटै गर्ने तयारी अनुसार परीक्षा थालिएको छ ।