मौसम परिवर्तनसँगै सप्तरीमा फैलियो भाइरल ज्वरो



काठमाडौं । मौसममा भएको परिवर्तनसँगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुधन अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् ।

विगत पाँच÷सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा.अरविन्द्रकुमार यादवले जानकारी दिए ।

उनले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०र७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् ।

बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण देखापर्ने गरेको यादवको भनाइ छ । भाइरल ज्वरोको उपचारका लागि अस्पतालमा दैनिक २५÷३० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

विगत केही दिनयता तराई मधेशमा अत्यधिक गर्मीका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्थानीयवासी उमेशकुमार साहले बताए । अत्यधिक गर्मीका कारण शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले पनि शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाइ छ ।

भाइरल ज्वरोका प्रकोप बढेको बेला झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन सबैमा आग्रह गरिएको बोदेबर्साइन नगरपालिका स्वास्थ्य शाखाका संयोजक वैद्यनाथ साहले बताए ।

यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र अस्पतालमा पनि उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दो छ । एक्सरे मेसिन बन्द, सेवाग्राही मर्कामा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा सञ्चालनमा रहेको एक्सरे मेसिन बन्द हुँदा उपचार गराउन आउने बिरामी सास्ती भोग्न वाध्य छन् । बाहिर गएर एक्सरे गराउँदा दोब्बर खर्चनुपरेको बिरामीको गुनासो छ । केही वर्ष अघिसम्म रेफरल सेन्टरको नामले परिचित यो अस्पतालमा व्यापक सुधार खाँचो रहेको राजविराजका बिजय रजकको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीतकुमार झाले प्राविधिक गडबडी र युपिएस बिग्रेका कारण बन्द भएको एक्सरे सेवो एक÷दुई दिनमा पुनः सञ्चालनमा आउन सकिने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्