अन्तर्राष्ट्रिय

सिम क्षेत्रबाट गैर कानुनी रूपमा अमेरिका छिर्ने झन्डै ५० हजारलाई अदालतको मिति नदिईकनै रिहा

By Thaha - Online

July 29, 2021

मेक्सिकोको सिमाक्षेत्रबाट गैर कानुनी रूपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका झन्डै ५० हजारलाई अदालतमा उपस्थित हुने मिति प्रदान नगरीकनै रिहा गरिएको छ । उनीहरूलाई इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट आइसको कार्यालयमा उपस्थित हुन भनिएकोमा अहिलेसम्म झन्डै १३ प्रतिशत मात्र उपस्थित भएर रिपोर्ट गरेको जनाइएको छ ।

यसअगाडि आप्रवासीहरूलाई अदालतमा उपस्थित हुने मिति नदिईकनै रिहा गर्ने गरिएको थिएन । रिहा गरिएका झन्डै ५० हजारलाई अदालतमा उपस्थित हुने मितिको साटो देशभरका आइसका कार्यालयका ठेगाना र सम्पर्क नम्बर दिएर ती मध्ये एकमा उपस्थित भएर आफ्नो अवस्थाबारे जानकारी गराउन भनिएको थियो ।

अध्यागमन अदालत उनीहरू मध्य मार्चदेखि मध्य जुलाईसम्म गैर कानुनी रूपमा सीमा पार गर्ने क्रममा पक्राउ परेकाहरू हुन् । सोमबारसम्मको तथ्याङ्क अनुसार ६ हजार ७ सय जनामात्रै आइसको कार्यालयमा उपस्थित भएको जनाइएको छ । ६० दिनभित्र उपस्थित हुन भनिएकोमा झन्डै १६ हजारले ६० दिनको अवधि समाप्त भइसक्दा पनि आइसको कार्यालयमा उपस्थिति जनाएका छैनन् ।

अरू २७ हजारको ६० दिने अवधि अझै समाप्त नभएको जनाइएको छ । गत सातामात्र रियो ग्रान्दे उपत्यकाबाट ७ हजार ३ सयलाई अदालतमा उपस्थित हुने मिति प्रदान नगरीकनै रिहा गरिएको टेक्सासका सांसद हेनरी क्युलेरले बताएका छन् । रियो ग्रान्दे उपत्यकामा एक साताको अवधिमा मात्र २० हजारभन्दा धेरै पक्राउ परेका थिए ।

अदालतमा उपस्थित हुने मिति विना नै रिहा गरिएका कैयन आफ्नो अध्यागमन प्रक्रिया सुरु गर्न र अदालतमा उपस्थित हुने मिति प्राप्त गर्न आफ्नो कार्यालयमा उपस्थित भएको आइसले जनाएको छ । तर आइसको कार्यालयमा उपस्थित भएर रिपोर्ट नगर्नेहरू आइसबाट देश निकालाको भागिदार बन्ने आइसले चेतावनी दिएको छ । खसाेखासबाट