रोशन घर्ती
दाङ , २९ माघ । दाङ जिल्लामा क्यान्सर रोगीको संख्या बढिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले जनाएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागि उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको संख्या दिनानुदिन बढ्दै गएको सूचना अधिकृत मदन पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समय जनता जागरुक भएका र जिल्लामा सिफारिस लिन आउनेको संख्या बढेका कारण पनि जिल्लामा क्यान्सरका बिरामी बढेको पाइएको हुनसक्ने पौडेलले बताउनुभयो ।
दाङमा क्यान्सरका कारण अवस्था नाजुक हँुदै गएपछि विद्यालयलगायत विभिन्न क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु गर्न थालिएको छ । विभिन्न स्वास्थ चौकी एवं अस्पतालका नजिक पर्ने विद्यालयहरुमा गएर यससम्बन्धी सचेतना कार्यक्रम समेत गर्दै आएको उहाँले बताउनुभयो । ‘अहिले मान्छेहरुमा खानपिनका साथै दैनिकीमा खास ध्यान नदिदा र नियमित व्यायामहरु नगर्ने भएका कारण पनि क्यान्सरका बिरामी बढेर गएका हुन्’– उहाँले भन्नुभयो ।
सिफारिसका आउने बिरामी सिकिस्त भई अस्पताल भर्ना भइसकेपछि सम्बन्धित अस्पतालले क्यान्सर हो भनी प्रमाणित गरिसकेको पत्र वा ओपिडी टिकटमा डाइगोनिस्टिक गरेको र सम्बन्धित गाउँपालिकारनगरपालिकाको वडाबाट लिएको सिफारिस पत्र, नागरिता वा जन्मदर्ताको कागजपत्र र रु। १० को टिकट टॉँसेर जिल्ला जनस्वास्थ्यमा एउटा फार्म भरिसकेपछि जिल्लामा निःशुल्क उपचारका लागि समितिबाट जिल्ला प्रमुख अधिकारीको अध्यक्षतामा बैठक बसिसकेपछि उसले पाउने रकम बराबरको सम्बन्धित अस्पतालबाट सुविधा पाउने व्यवस्था रहेको समेत सूचना अधिकृत पौडेलले बताउनुभयो ।
दाङमा आव २०७४ मा मात्रै ७४ जना क्यान्सरका बिरामीले सिफारिस लगेका छन् । जसमध्ये महिलाको संख्या ३९ र पुरुषको संख्या ३५ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सम्पूर्ण उमेर समूहका मानिसमा क्यान्सर पाइएको र ४० वर्षमाथिकामा बढी क्यान्सर पाइएको पौडेलले बताउनुभयो । दाङमा पछिल्लो समय महिलाहरुमा बढी क्यान्सर भेटिएको छ । ‘महिलाहरुमा पाठेघरको क्यान्सर र स्तन क्यान्सर बढी पाइएको छ भने पुरुषहरुमा आन्द्रा, पिसाब थैली प्रोटेस्ट क्यान्सर बढी भेटिएको छ’– उहाँले भन्नुभयो ।
पछिल्लो समय सरकारले क्यान्सर, मृगौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक भत्तास्वरुप व्यवस्था गरेको भनिए पनि जिल्ला तहमा कुनै निर्देशन आएको छैन । सरकारले यस्ता बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरे पनि अहिलेसम्म कुनै कार्यविधि बनाएको छैन । सरकारको निर्णय सुनेर सुविधा माग्न आउन थाले पनि त्यस्तो कुनै परिपत्र नआएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।सरकारले नसर्ने रोगहरुमा अल्जाइमर, क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, मृगौला, सिकल सेल, स्पाइनल इञ्जुरी, हेडइञ्जुरीका बिरामीहरुले औषधि उपचारका लागि जिल्ला जनस्वास्थ कार्यालय दाङबाट सिफारिस पाउने पौडेलले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ कार्यालय दाङको तथ्यांक अनुसार अल्जाइमरका एकजना, क्यान्सरका ७४, ब्रेन ट्युमर तीन, मुटु रोग ६०, मृगौला ३८, सिकलसेल २९, ,स्पाइनल इञ्जुरी पाँच र हेडइञ्जुरीका आठ जनाले सिफारिस लगेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।