विजयनगरको दूधधारी नमुना माध्यमिक विद्यालयमा विज्ञान विषय सञ्चालन



कपिलवस्तु : कपिलवस्तुको सुदूरपश्चिम क्षेत्रमा पर्ने विजय नगर गाउँपालिकामा रहेको दूधधारी नमुना माध्यमिक विद्यालय सुगौलीले विज्ञान विषय सञ्चालन गर्ने भएको छ । विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै शैक्षिक सत्र २०७८ सालदेखि कक्षा ११ मा विज्ञान विषयको अध्ययन अध्यापन गराउने प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले जानकारी दिनुभएको छ ।

विज्ञान विषय अन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, मेजर म्याथ सञ्चालन हुने छन् । उक्त विद्यालयले प्लस टु मा कमर्श, मानविकी, एजुकेसन, आर्ट्स र ३ वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा विषयमा गुणस्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन भइरहेको प्रधानाध्यापक कोरीले बताउनुभयो ।

यस क्षेत्रमा शैक्षिक गुणस्तरीयतामा वृद्धि, विकास गर्न, विज्ञान विषय र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतालाई हटाउनुको साथै विद्यार्थी, अभिभावकको आवश्यकता र माग अनुसार विज्ञान विषय र सिभिल इन्जिनियरिङ डिप्लोमा सञ्चालनमा ल्याइएको दूधधारी नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रकट कोरीले बताउनुभएको छ ।

कपिलवस्तुकै सुदूरपश्चिमको विकट क्षेत्रमा पर्ने विजय नगर गाउँपालिकाको दूधधारी नमुना माध्यमिक विद्यालयले यसरी विभिन्न संकायका विषयहरू सञ्चालनमा ल्याई रहँदा पालिकावासी खुसी भएका छन् । विज्ञान विषयमा नयाँ भर्ना र सिभिल इन्जिनियरिङमा पनि भर्ना खुलेकोले समयमै भर्ना हुन समेत विद्यालय अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्