जसपाले सङ्गठन सुदृढीकरण र जनजागरण अभियानमा अनुशासन समितिको संयोजकमा नरसिंह चौधरी चयन



कपिलवस्तु । साउन १४ जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना सङ्गठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएकाले अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गरेको छ । जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १ देखि मङ्सिर मसान्तसम्म सङ्गठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिको बैठकले अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ ।

यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । यस्तै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन सम्बन्धी छानबिनका लागि नवराज सुवेदीको संयोजकत्वमा समिति बनाइएको छ ।

समिति गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् । संसदीय दलको नेताका लागि दाबेदारहरूको टुङ्गो भने लागिसकेको छैन । बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिवार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।

यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । स्रोतका अनुसार पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन हुने सम्भावना छ । र, देउवा सरकारमा उपप्रधान पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सम्भावना रहेको स्रोतले जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्