कोरिया जाने प्रक्रिया पूरा गरेकाहरूलाई रोजगार गन्तव्यमा जान प्रबन्ध गर्न सरकारलाई निर्देशन



काठमाडौँ : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगारीका लागि कोरिया जाने प्रक्रिया पूरा गरेकाहरूलाई रोजगार गन्तव्यमा जान प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण  हजारौँ युवाहरू सन् २०१९ मा कोरोना भाइरसको सुरुवात भएपछि रोजगारीका लागि दक्षिण कोरिया जान पाएका छैनन् ।

 

बिहीबार बसेको समिति बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमसहित उच्च अधिकारी तया भाषा परीक्षा पास भई रोष्टरमा नाम चढी प्रतीक्षा सूचीमा रही रोजगारीमा जान नपाएका युवाहरूसँग छलफल गरी उक्त निर्देशन दिएको हो ।

 

कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका झन्डै १० हजार युवा अन्योलमा छन् । भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म रोस्टरमा नाम रहन्छ । यस अवधिमा रोजगारदाताको छनोटमा पर्न नसकेको खण्डमा कोरियामा रोजगारी पाइँदैन ।

 

समितिका सभापति रामनारायण बिडारीले कोभिड–१९ लाई मात्रै कारण बनाएर ती भाषा परीक्षा उत्तीर्ण गरेका युवालाई रोक्न नहुने भन्दै सरकारलाई निर्देशन दिएको बताए ।

 

सभापति बिडारीले पीडित युवाले रोजगारीमा जानका लागि सरोकारवाला श्रम मन्त्रालयदेखि विभिन्न मन्त्रालयमा धाउँदा पनि समस्याको समाधान नभएको उजुरी आफू समक्ष आएको भन्दै तत्काल तदारुकताका साथ काम गर्न पनि आग्रह गरे ।

 

समितिका सदस्य राधेश्याम अधिकारीले कोरियामा रहेको नेपाली दूतावासले योग्य युवाहरू लामो समयदेखि जान नपाए पनि उनीहरूलाई उचित पहल गर्न नसकेको भन्दै दूतावासको ध्यानाकर्षण गराउनु पर्ने सुझाव राखे । समितिका अर्का सदस्य डा. खिमलाल देवकोटाले पनि भाषा परीक्षा उत्तीर्ण गरेका योग्य युवाहरू स्वदेशमै पीडित हुन नहुने भन्दै यस विषयमा सम्बन्धित निकायका अधिकारीबाटै सक्रिय रूपमा पहल हुनुपर्ने बताए ।

 

श्रम मन्त्रालयका सचिव गौतमले दक्षिण कोरियासँगको सम्झौता अनुसार नेपाली कामदार लैजाने प्रक्रियामा रहेका भन्दै कोरोनाको बिमा गराएर क्वारेनटिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत पठाउन कोरियासँग आग्रह गरेको जानकारी दिए । 

 

कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि केही देशबाट श्रमिक लैजान सुरु गरे पनि पछिल्लो समय पुनः रोकेको छ । नेपालसहित १६ वटा मलुकलाई विदेशी कामदार आपूर्ति गर्ने स्रोत मुलुकमा राखेको छ । नेपालसहित केही मुलुकका कामदार जान पाएका छैनन् । ६५ हजारभन्दा बढी नेपाली कार्यरत कोरिया नेपालमा रेमिट्यान्स आउने प्रमुखमध्ये पर्दछ । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्