Banner First

चारजना पूर्वमाओवादी नेताहरुको रिटको सुनुवाइ आज पनि भएन

By Thah Online

July 30, 2021

काठमाडौँ  । पूर्वमाओवादी नेताहरूले आफूमाथिको कारबाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । शुक्रवारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो , निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि समय अभावमा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो। सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका यी चार नेताले सर्वोच्च अदालतमा दायर गरेका थिए।

पूर्व माओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसदका रूपमा कायम रहन माग दाबीसहित रिट निवेदन दायर गरेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्त्री थिए।आफूहरू एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारबाही गरेको भन्दै उनीहरूले बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।