“ख्यास्स पुतली”ले दुर्गेशलाई पर्यो सकस दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने तयारी



गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर साङ्गीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ । स्रोत –दर्शकहरूले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिबन्ध लगाउनुपर्ने माग समेत गरिएको छ ।

कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरूले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रूपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसङ्गति न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।

प्रतिष्ठानले दुर्गेशको नाममा काटेको पत्रमा लेखिएको छ–‘विगतका वर्षहरू जस्तै यस वर्ष पनि तीज पर्व नजिकिँदै जाँदा गीतसङ्गीतका माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरू प्रस्तुत गर्दा हजुरको आगामी तीजगतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्द विषयपरक तीज गीतका नाममा समाजमा सम्प्रेषित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तर्गत गठित विकृति विसङ्गति न्यूनीकरण समितिले ठहर गरेकोले यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रूपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौँ । कलाकारितामा नैतिकता र ईमान्दारिता नै ठुलो हो न कि पैसा र चर्चा ।’

संस्थाको आग्रहलाई वास्ता नगरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ । प्रतिष्ठान स्रोतका अनुसार सोही गीतको विषयलाई लिएर आइतबार प्रतिष्ठान केन्द्रीय कमिटीको बैठक समेत डाँकिएको छ । अनलाइन खबरबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्