मेरो सरकार ढाल्नेहरू देशद्रोही हुन् : केपी ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलको सरकार ढालेर मुलुकलाई अनिश्चितता तर्फ लैजाने भूमिका खेल्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको बताएका छन्। एमालेमा आन्तरिक एकता कायम राख्ने प्रयास भइरहेकै बेला अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई एमाले भित्र कुनै स्थान नभएको बताएका हुन्।

वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएर नेपालले पार्टीलाई धोका दिएको उनले बताए। एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले माधव नेपालको कदम कम्युनिस्ट आन्दोलन विरुद्धमा भएको बताए।

‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। कम्युनिस्ट आन्दोलन विरोधी देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ छैन। फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे। पार्टी हामी सबैले बनाएका हौँ,’ उनले भने।

उनले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको र अहिले शेरबहादुर देउवा सरकालाई सहज भएको भन्दै ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे। एमाले नेतृत्वको सरकार ढाल्न अन्य कुनै शक्तिले नसक्ने भए पनि पार्टी भित्रैबाट गद्दारी भएको उनको दाबी थियो। यसलाई मनन गर्दै एमाले पुनः सत्तामा फर्कने दाबी पनि ओलीले गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्