केपी ओलीलाई माधव नेपालको चेतावनी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् ।

‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढङ्गले हुनेछ ।’ अखिल फोर्स’ले शनिवार काठमाडौँमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।’ वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । उनले सही विचार आत्मसात् गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न सरकारसँग माग गरे । उनले सो घटनामा संलग्नलाई कारबाही गर्न भारत सरकारको पनि गम्भीर ध्यानाकर्षण गराए । वरिष्ठ नेता नेपालले भने, ‘महाकाली नदीमा घटेको घटना हामीले सुन्यौँ । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानबिन गरियोस् । ती व्यक्तिहरू, उनीहरूको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकै कारणले पनि एउटा नेपाली युवा पानीमा बेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’

वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दाबी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढङ्गले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरूलाई आग्रह पनि गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्