कविता : कठै ! कस्तो देशको नागरिक म!



कठै ! कस्तो देशको नागरिक म !

पानी जहाज र मनोरेल कागजमै भए पनि हुने।

आफ्नै देशको चुच्चे नक्सा आफै काटेर खादा पनि आफ्नो मन नरुने।

कठै !कस्तो देशको नागरिक म!

संविधान माथि पटक पटक बलात्कार गरिरहँदा पनि हुने।

तुइन काटेर नागरिकलाई  नदीमा फाल्न मिल्ने।

कठै !कस्तो देशको नागरिक म!

किर्नाले पशुको रगत चुसे झैँ देशको ढुकुटी चुसिरहँदा पनि हुने!

चुरे दोहन भई रहँदा लुतो कन्याउँदा जस्तै आनन्द आइ रहने।

भर्‍याङ नहुँदा पनि धरहरा चढिरहन मिल्ने!

पढाई नभए पनि शुल्क चाहिँ तिरिरहन मिल्ने!

पोइल जान्छु भन्दा पनि जानै नमिल्ने!

कठै !कस्तो देशको नागरिक म!

आफ्नै घर जलाएर खिर पकाएर खादा पनि हुने!

ट्याङ्की भरि हुँदा पनि चुठ्न  चाहिँ पानी नमिल्ने।

कठै !कस्तो देशको नागरिक म!

आफ्नै कुर्सी जलाएर आफै भस्म हुने !

उनी सँग भेट नहुँदा पनि आफ्नै बार्दलीमै गएर कराउदा पनि आनन्द नै हुने!

कठै !कस्तो देशको नागरिक म!

दुई तिहाइलाई काटेर एक तिहाइ गर्न मिल्ने!

उनी हाँस्दा मेरो मनमा आनन्द हुने!

किताबमा छापेर पनि पढ्न मिल्ने !

मध्य रातको अधेरीमा  हीही गर्दा बालाजुका बाइस धारा आफै खुल्ने आफै बन्द हुने!

कठै !कस्तो देशको नागरिक म!

जङ्गे पिलर सँग कुर्सी साट्न मिल्ने!

हुक्का  नै नहुँदा पनि तुक्का खान मिल्ने!

उद्घाटन नै मात्रै गर्दा पनि आनन्द हुने!

कठै !कस्तो देशको नागरिक म!

कुर्सीमै नबसी कर्मचारीले तलब खान मिल्ने!

सेवाग्राही देख्ने बित्तिकै टेबल मुनि हात हुने!

मन्त्री नै नहुँदा पनि मन्त्री क्वाटरमा बसिरहन मिल्ने!

अङ्गीकृत नै नागरिकता भए पनि उप प्रधानमन्त्री सम्म हुन मिल्ने!

आफूले गाई नै नपाले पनि अर्कैको बकेर्नो गाई भए  पनि दोहरो खाइरहन मिल्ने!

तरकारी  बेचे झैँ ढाकिमै राखेर भए पनि  नागरिकता बेच्न मिल्ने मेरो देश!

अक्सिजनका सिलिन्डरहरू बोकेर कुदाएर सांसदले आफ्नै घरमा लुकाउने मेरो देश!

मन्त्री पद सकिएपछि क्वाटरका पर्दा कार्पेट ऐना बोकेरै आफ्नै घरमा लान मिल्ने मेरो देश!

बाले परीक्षा लिँदा माइनस जिरोमा फेल भएका बैगुनी केटाहरू दोबाटोमै बसेको बेस!

कठै !कस्तो देशको नागरिक म!

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्