ठाकुर महतो रणनीति : जसपामै रहेर नयाँ पार्टीको अभ्यास



काठमाडौं। आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले यसै साता आफूनिकट कानुन व्यवसायीसँग सरसल्लाह गरेका थिए।

स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रूपमा जनता समाजवादी पार्टी (जसपा) मा सदस्यता नै नरहने र सांसद पद पनि स्वतः गुम्ने स्थिति रहेको भनी कानुन व्यवसायीहरूले जानकारी दिएको बुझिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार नयाँ पार्टी घोषणा गर्ने बित्तिकै उपेन्द्र यादवले कारबाही नगरे पनि पद जाने भएकाले त्यसो गर्न उचित नहुने भनेर कानुन व्यवसायीहरूले ठाकुर–महतोलाई सुझाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार कानुन व्यवसायीहरूको तर्क थियो, नयाँ पार्टी घोषणा नगरेसम्म ठाकुर–महतो पक्षीय नेताहरू कानुनतः जसपामा रहन्छन्।

त्यस्तो अवस्थामा उपेन्द्र यादवले कारबाही गरेको जानकारी नगराएसम्म उनीहरूको सार्वजनिक पद पनि यथावतै रहने जिकिर उनीहरूले गरेका छन्। जसपा अध्यक्ष यादवले अहिलेसम्म ठाकुर पक्षका चार नेताबाहेक कसैलाई कारबाही प्रक्रिया अघि बढाएका छैनन्।

ती चार नेता ठाकुर, महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि आयोगले जसपा आधिकारिकता विवाद निरूपण गर्नुअघि नै कारबाही गरिएको हो। आयोगको फैसलापछि यादव पक्षले यसबारे केही बोलेको छैन। नयाँ पार्टी घोषणा नगरेसम्म यादवले कारबाही गरे पनि सर्वोच्चले सांसद पद थमौती गर्न सक्ने तर्क पनि कानुन व्यवसायीहरूको रहेको जनाइएको छ।

ठाकुर पक्षका सांसद लक्ष्मणलाल कर्णले आफूहरू अहिले पनि कानुनी रूपमा जसपाकै सांसद रहेको बताए। जसपा बारे अदालतमा विचाराधीन मुद्दा टुङ्गो नलागेसम्म नयाँ पार्टी घोषणा नगर्ने जानकारी उनले दिए। ‘जसपा बारे अदालतमा मुद्दा विचाराधीन अवस्थामै छ,’ उनले भने, ‘यसको टुङ्गो नलागेसम्म नयाँ पार्टी घोषणा गर्दैनौँ।’ अदालतमा जसपा सम्बन्धी दुई मुद्दा विचाराधीन अवस्थामा छन्। निर्वाचन आयोगले गरेको फैसलाविरुद्ध ठाकुर पक्षले अदालतमा मुद्दा दायर गरेको छ।

यसै गरी ठाकुर पक्षका एक कानुन व्यवसायीले तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीबिचको एकीकरण नै अवैध भएको भन्दै ती दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काई पाऊँ भनी सर्वोच्चमा मुद्दा दायर गरेका छन्। ‘ठाकुर पक्ष अदालतबाट आशावादी छ,’ स्रोतले भन्यो। अदालतले तत्कालीन राजपा र समाजवादीबिचको एकीकरणलाई अवैध ठह¥याए राजपा नाम ठाकुर पक्षले पाउनेछ। ठाकुर पक्षले चाहेको पनि यही नै हो।

ठाकुरलाई राजपा नाम नदिन उपेन्द्र यादवले आफूनिकट नेता हरिनारायण यादवलाई निर्वाचन आयोगमा राजपा नाम दर्ता गर्न लगाएका थिए। यादव पक्षले आयोगमा निवेदन दिएको दुई दिनपछि मात्र ठाकुर पक्षका एक नेताले राजपा नाम दर्ता गर्न आयोगमा निवेदन दिएका थिए।

स्रोतका अनुसार राजपा नपाए नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा पनि ठाकुर पक्षका नेताहरूले आन्तरिक तयारी गरिरहेका छन्। ‘लोकतान्त्रिक समाजवादी पार्टी’ नाम राख्ने विषयमा ठाकुर पक्ष सकारात्मक रहेको सो पक्षनिकट एक नेताले बताए। सो नाम निर्वाचन आयोगमा दर्ताका लागि ठाकुर पक्षका एक नेताले निवेदनसमेत दिइसकेका छन्।

तत्काल नयाँ पार्टी खोल्ने कि केही समय पर्खने भन्ने विषयमा छलफल गर्न ठाकुरले शनिवार आफूनिकट कार्यकारिणी सदस्य तथा संसदीय दलको बैठक बोलाएका थिए। बैठकमा तत्काल नयाँ पार्टी घोषणा नगर्ने तर नयाँ पार्टीसरह भित्रभित्रै आन्तरिक तयारी गर्ने निष्कर्ष नेताहरूले निकालेको जनाइएको छ। नयाँ पार्टीको अभ्यास गर्न ठाकुर पक्षले आफूनिकट नेताहरूलाई विभिन्न जिम्मेवारी पनि तोकिसकेको स्रोतको भनाइ छ। आजको नागरिक दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्