सर्पको बिगबिगीका कारण स्थानीयहरु समस्यामा,आधा साउनमै ५० नाघे सर्पदंशका घटना



महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ। बर्खाकलामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो। बर्दिबास–३ गौरीडाँडास्थित सर्प दंश उपचार केन्द्रमा अहिले सर्प दंशको उपचार लिन आउने दिनदिनै बढेका छन्।

साउनको मध्यभित्रै सर्प दंशका ५३ घटना उपचारका लागि आएका सर्प दंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले जनाएको छ। तीमध्ये विषालु सर्पले टोकेका १५ घटनाको उपचार गरिएको केन्द्रका उपचार प्राविधिक टोलीका नेता इन्द्रबहादुर केसीले बताए। केन्द्रमा अहिले चार जना उपचाररत छन्। गत वर्ष पूरै साउनमा ४० सर्प दंशका घटना भएका थिए। यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्प दंशले मृत्यु भएको छ। केन्द्रमा अहिले दिनहुँ उपचारपछि घर फर्कने र उपचार लिन आउने बाक्लै छन्।

असार मध्ययता र साउन पहिलो सातासम्म पटक पटकको मुसल धारे वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो। सर्प दंशका बिरामी उपचार गर्न आएमध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १५ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटा बताए। अन्य भने भाइबर (विष नलाग्ने सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेको पुष्टि भएको उनको भनाइ छ। सर्प दंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन्। घाँसपातको काम गर्दा र घरघरै शौचालय नहुँदा अँध्यारोमा दिसा पिसाब गर्न बाहिर निस्कँदा मदेशमा सर्प दंशका घटनामा महिला बढी पर्ने गरेको देवकोटा बताए।

बर्दिबास–१, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ। त्यसै गरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्प दंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिबासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता भएभन्दा निकै बढी घटना हुने गरेको देवकोटा बत्ताउँछन्।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्प दंश उपचार केन्द्र बर्दिबास–३ मा यसको व्यवस्थापन गर्ने समुदाय स्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन्। केन्द्रले सेवा सञ्चालन भएयता गत असार मसान्त ९आर्थिक वर्ष २०७७र७८० सम्म एक हजार ९०४ सर्प दंशका बिरामीको सफल उपचार गरिसकेको छ।

केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि (एन्टी स्नेक भाइल) हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ । केन्द्रमै वा बर्दिबास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटक–पटक आग्रह गरेको केन्द्रका अध्यक्ष देवकोटा बत्ताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्