दार्चुला घटनाका दोषीलाई कारबाही नभए आन्दोलन गर्ने २२ दलको चेतावनी



विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक सङ्घर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ ।  अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

गत शुक्रवार (साउन १५) दार्चुला जिल्लाको व्यास गाउँपालिका– २, माल घाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जाने क्रममा ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदी पार गर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा डुबेर बेपत्ता भएका थिए। 

एसएसबीकै कारण घटना घटेको तथ्यलाई प्रत्यक्षदर्शीहरूको भनाइले पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । घटनालाई भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुला जिल्ला प्रमुख अधिकारी (सिडिओ) लाई पत्र पठाएर एसएसबीको संलग्नतालाई इन्कार गरेपछि  घटना झनै जटिल बन्दै गएको उल्लेख गरिएको छ। ‘
विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल),नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (माले),नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च जन समाजवादी पार्टी, नेकपा (संयुक्त),राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेविक), एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी) र नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्