मुख्य समाचार

सरकार वार्ताको पहलमा, राजपाका नेताहरु राजधानी छाड्दै ।।

By थाहा अनलाइन

June 13, 2017

जेठ,३०

चुनावमा नजाने निस्कर्ष सहित आन्दोलन गरिरहेको राजपाका शीर्ष नेताहरु आज तराई झर्ने भएका छन् । राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा आज बन्द, आमहडताललगायत विरोध कार्यक्रम सफल पार्न भन्दै तराई, मधेस जान लागेका हुन् । राजपा नेता अनिलकुमार झाले आन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउन राजधानी छाड्न लागेको जानकारी दिनुभयो । सरकारसँग अब वार्ता सम्भव नभएको पनि उहाँले बताउनुभयो । राजनीतिक मुद्दामा सरकारले उदारतासाथ कन्सिडर गर्नुपर्नेमा, उल्टै सत्ता निर्माणका क्रममा राजपाले दिएको मतको दुरुपयोग गर्दै तीनबुँदे सहमतिको कार्यान्वयन नभएको उहाँको आरोप छ । उहाँका अनुसार अध्यक्ष ठाकुरले जनकपुर, राजेन्द्र र महेन्द्र सर्लाही, शरतसिंह भण्डारीले महोत्तरी, राजकिशोर सिरहा र झाले रौतहटको मोर्चा सम्हाल्नुहुने भएको छ । सरकारले भने राजपालाई चुनावमा ल्याउन आज नै थप छलफल गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजपासँग छलफल जारी राख्ने निक्र्योल गर्नु भएको छ । हिजो प्रचण्ड निवास लाजिम्पाटमा भएको सहमति अनुसार आज थप वार्ता हुन लागेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया पनि जारी राख्ने समझदारी भएको छ ।