बालबालिका सम्बन्धी कार्यविधि निर्माणका लागि अन्तरक्रिया



मसुरीया(देउखुरी दाङ) । राप्ती गाउँपालिकामा बालबालिका सम्बन्धी अवस्थाको विश्लेषण गर्दै नीति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रिया गरिएको छ ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बालबालिकाको नैसर्गिक अधिकार अन्तरगतका कुराहरूको सुरक्षा गर्नु सबैको जिम्मेवारी रहेको हुँदा पालिका स्तर बाटै नीति तथा कार्यविधि निर्माण गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, ९ वटै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सबै वडाका बाल क्वलका प्रतिथनिधिहरुको सहभागिता रहेको अन्तरक्रियामा बेस संस्थाका वासुदेव चौधरी र लोकराज चौधरीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय बाल अधिकार समिति गठन तथा सञ्चालन, कार्यान्वयन कार्यविधि, पालिकाको लागि घटना व्यवस्थापन निर्देशिका, बालकोष सञ्चालन निर्देशिका, बालमैत्री स्थानीय शासन रणनीति तथा कार्यविधि लगायतका विषयमा छलफल गरिएको छ ।
राप्ती गाउँपालिकामा बालबालिका सम्बन्धी अवस्थाको विश्लेषण गर्दै बाल संरक्षण नीति, बालक्लव गठन तथा सञ्चालन, बालश्रम निवारण, जोखिमबाट उद्धार गरिएको बालबालिकाको पारिवारिक पुनर्एकीकरण र बालश्रममुक्त पालिका घोषणा जस्ता विषयमा समूहगत रूपमा छलफल गरिएको छ ।

कार्यक्रममा चेतना तथा मानव श्रोत व्यवस्थापनका लागि पालिका स्तरमा बाल अधिकार समिति निर्माण तथा पुर्न ताजगी गर्ने, वडा स्तरमा बाल अधिकार समिति गठन गर्ने, बाल संरक्षण सञ्जाल निर्माण गर्ने, बाल कल्याण अधिकारी, समाजसेवी नियुक्त गर्ने लगायतका विषयमा छलफल गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी तथा कल्पना खनालले समायोजन गर्नु भएको नीति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रियामा राप्ती क्षेत्रमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका भृकुटी महिला समूह, लक्ष्मी महिला समूह तथा अन्य सरोकार बालाहरूको समेत सहभागिता रहेको थियो । एक दिने नीति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रियाद्वारा बालबालिका सम्बन्धी अवस्थाको विश्लेषण गर्दै नीति तथा कार्यविधिको प्रारम्भिक खाका तयार गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्