दुर्गेशको ‘ख्यास्स पुतली’ गीत गुगलमा उजुरी गरि भिडियोदेखि सबै बहिष्कार गर्ने प्रतिष्ठानको तयारी



काठमाडौँ  ।  नेपाली साङ्गीतिक बजारमा पछिल्लो समय गायक–गायिकाहरू विभिन्न विवादमा पर्ने गरेका छन् । तीमध्ये धेरैजसो त उनीहरूले गरेको सिर्जनाकै कारण पनि विवादमा तानिने गरेका छन् । सस्तो लोकप्रियता पाउने र भाइरल हुने उद्देश्यले गीतमा जथाभाबी शब्द प्रयोग गरेका कारण कतिपय कलाकार विवादमा तानिएका छन् ।

पर्व केन्द्रित सिर्जना ल्याउने क्रममा यस वर्ष दुर्गेशले तीजका लागि ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरे । युट्युबमा राम्रो दर्शक पाइरहे पनि यो गीतले सरकारी नियामक निकायको भने कन्सिरी तताएको छ । गीतका शब्दमा आपत्ति जनाउँदै  लोक तथा दोहोरी प्रतिष्ठानले दुर्गेशलाई पत्र नै काटेको छ । पत्रमा गीतमा प्रयुक्त ‘ख्यास्स पुतली’ शब्द झिकेर गीत सार्वजनिक गर्न निर्देशन दिइएको छ ।  भर्खर सार्वजनिक भएको उनको तीज गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’मा जथाभाबी शब्द प्रयोग गरेका कारण उनी विवादमा मुछिएका हुन् ।

उनीको गीतमा प्रयोग भएका शब्दहरूले तीज पर्व र महिलाको अपमान गरेको आरोप लाग्यो । गीतमा समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै आपत्ति जनायो।

के भन्छ लोकदोहोरी प्रतिष्ठान ?

दुर्गेशले  प्रतिष्ठानको अनुरोध अटेर गर्दै गीत सार्वजनिक गरेका थिए । प्रतिष्ठानले आफ्नो अनुरोध अस्वीकार गर्दै नेपाली कला संस्कृति माथि लगातार प्रहार गरेको भन्दै दुर्गेशलाई संस्थागत र सार्वजनिक रूपमा बहिष्कार गर्ने निर्णयमा प्रतिष्ठान पुगेको प्रतिष्ठान अन्तर्गत गठित विकृति विसङ्गति न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालले बताए ।

हमालले संस्थागत बहिष्कारको रूपमा दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, प्रतिष्ठानको सेवा सुविधाबाट हटाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले व्यावसायिक साझेदारी नगर्ने, सार्वजनिक मेला महोत्सवबाट बहिस्कार गर्ने देशभरका आफ्नो शाखा तथा कार्यक्रम आयोजक कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नगराउन अनुरोध गर्ने लगायत रहेको जानकारी दिए ।

अहिलेसम्म आफूहरूले गीत सङ्गीत आफ्ना हिसाबले स्वतन्त्र रूपमा ल्याउन पाएको उल्लेख गर्दै हमालले थपे ‘दुर्गेशको क्रियाकलापबाट राज्यले गीत सङ्गीतमा सेन्सर लगायो भने पुरै संगीतिक क्षेत्रकै दुर्भाग्य हुनेछ । त्यो दुर्घटना घट्नु पहिले हामी सबै सचेत हुनुपर्छ भने लागेर दुर्गेश विरुद्ध कदम चाल्न लागेको हो ।’ दुर्गेशका गीतले बालबालिकाको मनस्थितिमा समेत नकारात्मक प्रभाव पार्ने हमालको ठहर रहेको छ ।

दुर्गेश भने प्रतिष्ठानको सबै अनुरोध बेवास्ता गर्दै आएका छन् । व्यक्तिगत मेरो चर्चा भएको छ । राज्यले त केही गरेको छैन । सङ्घ–संस्थाले के गर्न सक्छ भनेर उनले भन्ने गरेको प्रतिष्ठानका भनाइ रहेको छ । दुर्गेशको विषयमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको बैठक आइतबार पनि बसेको थियो । बैठकमा दुर्गेश विरुद्ध राज्यलाई कारबाहीको माग, गुगलमा उजुरी, संस्थागत बहिस्कार लगायतका विषयमा छलफल भएका थिए ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने, ‘गीत ल्याउने हल्ला चले लगत्तै हामीले मौखिक तथा पत्रमार्फत पनि दुर्गेशलाई शब्दमा फेरबदल गर्न अनुरोध गरेका थियौँ। महिला दिदीबहिनीको चाडपर्वमा भल्गारिटी नल्याउने र तीज संस्कृति बचाउने गीत ल्याउन भनेका थियौँ। तर, उहाँले हाम्रो कुरा मतलब गर्नु भएन।’

संस्थाको आग्रहलाई नमानेपछि प्रतिष्ठानले दुर्गेश थापालाई संस्थाबाट नै बहिष्कार गर्ने तयारी गरेको बिजीले बताएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्