स्थानीय खेल कसीमला पाँयको ऐतिहासिकता र खेल विधि



खेल मनोरञ्जनको पहिलो आधार हो । खेललाई बन्द कोठा र खुल्ला आकाशमा खेल्न सकिन्छ । हरेक खेलले व्यक्तिलाई मूलतः मानसिक विकास एवं बौद्धिक रूपले स्वस्थ बनाउने गर्दछ । खेलको विकास क्रमले खेलमा अनेकौँ प्रविधि तथा प्रयोगले परिमार्जन हुँदै जान्छ ।

बहु आयामिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधता भएको देश नेपालमा भएका विभिन्न खेलहरूको प्राचीनता र ऐतिहासिक परिमार्जन भएर नयाँ तथा चल्तीका खेलहरूको विकास भएको मान्न सकिन्छ । चल्तीका खेलहरूमध्ये परम्परागत रूपमा खेल्दै आएको खेलको रूपमा भक्तपुर नगरमा मात्रै खेल्ने कसिमला पाँयलाई लिन सकिन्छ ।

कसिमला पाँय खेलको सुरुवात महाभारतकालीन तथा राजा महाराजाकालीन समयमा खेल्ने खेलको विकास क्रम र परम्पराले भएको मान्नुपर्ने देखिन्छ । साथै यही कसिमला पाँय खेलको प्रारुपले आधुनिक बुद्धिचाल र लुड‍ो खेलको विकास भएको पुष्टि गर्न सकिन्छ ।

यस खेलका लागि आवश्यक खेल सामग्रीहरू सजिलै स्थानीय रूपमै पाउन सकिन्छ । यसको लागि नर्कट वा बेतबाँसको चार वटा कप्टेरा वा पत्री हुन्छ, जसलाई पाँय भनिन्छ भने आयातकार आकारको बोर्ड, जहाँ तीन भागको कोठामा बीच भाग फराकिलो भएको बोर्डलाई कसिमला भनिन्छ । जसमा बीच भागलाई मला भनिन्छ । यसरी खेलको समग्र रुपलाई कसिमला पाँय भनिन्छ ।

यस खेलमा आवश्यकता अनुसार बिजोर गोटी सुरक्षित राख्न मलाहरूमा लायग (भोङ्ग)किल्ला (गढ) को व्यवस्था गरिएको हुन्छ । एक किल्लादेखि अर्काे किल्लाको बीचमा चार लाईन वा कोठाको दूरीमा गोटीहरू सुरक्षित राख्न भोङ्गको व्यवस्था गरिन्छ । आवश्यकता अनुसार कम्तिमा तीन र बढीमा सात वटा भोङ्गको व्यवस्था गरे तापनि सामान्यतया पाँच भोङ्ग भएको कसिमला पाँय खेलमा दुई पक्षको जम्मा १७/१७ वटा गोटीहरू हुन्छन् । जुन गोटीहरू क्रमबद्ध रूपमा लहरै राखेको हुन्छ । दुई पक्षको गोटी चिन्न सजिलो होस् भनेर फरक फरक रंग वा ढाँचाका गोटीहरू राख्ने गरिन्छ ।

साथै यस खेलमा चारवटा कम्तिमा पाँच इन्च लम्बाइ र ६ लाइन चौडाइ भएको नर्कट वा बेतबाँसको कप्टेरा चिरेर पायँचा बनाइन्छ । ती पायँचा हातले मिलाई समातेर भुइमा बजार्ने वा उफार्ने गर्दछ । यस खेलमा गोटी चाल्ने मुख्य आधार यसमा रहेका पायँ भुइमा बजार्दा वा उफार्दा आउने सङ्ख्या नै हो ।
यसरी उफार्दा कसी, द्वादी (डोक), सुदी, च्या (पिई), ङा आउँछ र त्यसरी नै गोटीहरू चाल्दै खेलिन्छ ।

जसरी लुडो खेलमा पोट(१) नआई गोटी चाल्न पाउँदैन त्यसरी नै यस खेलमा कसी (१) नआई गोटी चाल्न पाउँदैन। त्यस्तै लुडो खेलमा जति पटक छक्का (६) आउँछ त्यति नै दोहोर्‍याएर गट्टा  उफार्न पाइन्छ भने कसिमला पाँय खेलमा पाँयचा भुईँमा बजार्दा वा उफार्दा च्या(पीई/४) र ङा(५) जति पटक आयो त्यति नै दोहोर्‍याएर उफार्न मौका पाउँछ । साथै एक लहरमा उफार्दा चालिएको गोटी अर्को उफार्ने पालो नआई त्यहीँ गोटी चाल्न पाउँदैन र तर अन्य गोटी भने चाल्न पाउँछ ।१७ वटा गोटीको पालैपालो कसी(१) नआई १७ वटा गोटी चलाउन पाउँदैन । १७ वटा कै कसी आएपछि मात्रै जुनसुकै गोटी चलाउन पाइन्छ ।

खेलको सामान्य नियम तथा जानकारी
१.पाँयचा भुईँमा बजार्दा एउटा मात्र उत्तानो परेको र बाँकी घोप्टो परेको छ भने त्यसलाई कसी (१) भनिन्छ । कसीमा १ पाइला मात्रै चालिन्छ ।
२. पाँयचा भुईँमा बजार्दा दुई वटा उत्तानो परेको र बाँकी घोप्टो परेको छ भने त्यसलाई द्वादी (डोक/२) भनिन्छ । द्वादीमा २ पाइला मात्रै चालिन्छ ।
३.पाँयचा भुईँमा बजार्दा तीन वटै उत्तानो परेको र बाँकी घोप्टो परेको छ भने त्यसलाई सुदी (३) भनिन्छ । सुदीमा ३ पाइला मात्रै चालिन्छ ।
४.पाँयचा भुईँमा बजार्दा सबै उत्तानो परेको छ भने त्यसलाई च्या (पी /४) भनिन्छ । पी मा ४ पाइला मात्रै चालिन्छ ।
५.पाँयचा भुईँमा बजार्दा सबै घोप्टो परेको छ भने त्यसलाई ङा (५) भनिन्छ ।  ङा मा ५ पाइला मात्रै चालिन्छ ।
६.भोङ्ग वा किला /गढ बाहिरको गोटी मात्रै खान पाउँछ, खाएको गोटी चेस खेलमा झैं झिक्नुपर्छ ।साथै जसले पहिला भोङ्ग वा गढ बनाउँछ त्यहाँ विपक्षीको गोटी (सेना)सुरक्षित गर्न पाउँदैन तर त्यहाँबाट हटेको छ भने आफ्नो गढ बनाउन मिल्छ । किल्लामा रहेका सेनालाई खतम पार्न विभिन्न लोभलालच विपक्षीले देखाउँछ ।
७.गोटी दायाँबायाँ आफूलाई जहाँबाट सजिलो छ त्यताबाट पनि राख्न सकिन्छ ।

यसरी खेलको क्रममा एक पक्षले आफ्नो धेरै आफ्नो धेरै गोटी बाँकी राखी विपक्षीको सम्पूर्ण वा धेरै गोटी खान सफल भएमा उसको जीत हुन्छ । यदि एक पक्षले आफ्नो सम्पूर्ण गोटी सुरक्षित राखी विपक्षीको सम्पूर्ण गोटी खान सकेमा र विपक्षीलाई १ गोटी पनि खान नदिएमा विपक्षी गुलमसी (हार) हुन्छ र जित्नेले दोब्बर अङ्क पाउँछ ।

मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि र भक्तपुरमा मात्रै खेलिने कसिमला पाँय खेलको जगेर्नाका लागि पुस्ता हस्तान्तरण स्वरूप स्थानीय पाठ्यक्रममा २०७५/७६ मै समावेश गरेर विभिन्न उमेर समूहमा प्रतियोगिता समेत गरिसकेको छ ।

सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर
योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक
हाल: राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्