शिल्पा शेट्टीले भनिन् : ‘म चुप रहन्छु, मेरो परिवार र मेरो गोपनीयताको हकको सम्मान गर्नुहोस्



काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको अहिले खराब समय चलिरहेको छ । शिल्पाका पति राज कुन्द्रा पोर्नोग्राफी केसमा जेलमा छन् । यो समयमा शिल्पामाथि केही आरोप पनि लगाइएका छन् र उनका विषयमा केही हल्ला पनि फैलिएका छन् । शिल्पाले यी सबै कुराका साथै आफूलाई ट्रोल गरिएको विषयमा समेत बयान जारी गरेकी छिन् । उनले आफू अहिले चुप भएको, अगाडि पनि चुप रहने र समयको साथमा सबैको सत्य आफैं अगाडि आउने बताएकी छिन् ।

शिल्पाले लामो नोटमा लेखेकी छिन् ‘हो, पछिल्ला केही दिन हरेक किसिमले कठिन रहेका छन् । कैयौं हल्ला र आरोप हामीमाथि लागेका छन् । मिडिया र मेरा शुभचिन्तकहरुले मेरो बारेमा कैयौं कुरा भनेका छन् । मलाई मात्र होइन मेरो परिवारलाई पनि ट्रोल गरिएको छ र हामीमाथि प्रश्न उठाइएको छ । मेरो अडान यो हो कि मैले अहिलेसम्म केही भनेकी छैन र म यो विषयमा अगाडि पनि चुप नै रहनेछु । त्यसैले मेरो नाममा झुटा कुरा नबनाउनुहोस् ।’

उनले अगाडि लेखेकी छिन् ‘एक सेलिब्रेटीको रुपमा मेरो दर्शन छ ‘कहिल्यै गुनासो नगर र कहिल्यै सफाइ नदेउ ।’ म केवल यत्ति भन्छु कि अहिले जाँच चलिरहेको छ । मलाई मुम्बइ पुलिस र भारतको न्यायालयमाथि विश्वास छ । एक परिवारको रुपमा हामीले कानुनी सहयोग लिइरहेका छौं । तर, त्यतिबेलासम्म म तपाइँहरुसँग निवेदन गर्छु कि आधा अधुरो जानकारीका आधारमा सत्य नबुझी कमेन्ट गर्न बन्द गर्नुस् ।’

आफ्नो बयानको अन्त्यमा शिल्पाले लेखेकी छिन् ‘म एक कानुनको पालना गर्ने भारतीय र विगत २९ वर्षदेखि काम गरिरहेकी व्यवसायिक महिला हुँ । मानिसहरुले ममाथि विश्वास गरेका छन् र मैले कहिल्यै पनि कसैको विश्वास तोडेकी छैन । त्यसैले म खास रुपमा तपाइँहरुसँग निवेदन गर्छु कि मेरो परिवार र मेरो गोपनीयताको हकको सम्मान गर्नुहोस् र यो समय हामीलाई एक्लै छोडिदिनुहोस् । हामीलाई मिडिया ट्रायलको आवश्यकता छैन । कृपया कानुनलाई आफ्नो काम गर्नु दिनुस् । सत्यमेव जयते ।’ डिसीनेपालबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्