न्यु योर्क सिटीमा रेष्टुरेण्ट भित्र खाना खान भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने



न्यु योर्क सिटीमा अब रेष्टुरेण्ट भित्र खाना खान ग्राहकले भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमण दर बढेपछि न्यु योर्क सिटीका मेयर बिल ब्लाजिओले नयाँ नियमको घोषणा गरेका हुन् ।

रेष्टुरेष्ट भित्र खाना खान, जिमहरू र प्रस्तुतिहरूमा भ्याक्सिन लगाएको प्रमाण पेस गर्नुपर्ने नियम लागु गर्नेमा अमेरिकामा न्यु योर्क सिटी पहिलो भएको छ । यस्तो नियम फ्रान्स र इटलीमा पनि घोषणा गरिएको छ । न्यु योर्क सिटीमा भने यो नियम मध्य सेप्टेम्बरबाट लागु हुने जनाइएको छ ।

न्यु योर्क मेयर ब्लाजिओ भ्याक्सिनका सन्दर्भमा आक्रामक रूपमा अगाडि बढेका छन् । उनले न्यु योर्क सिटीका कामदारलाई या त भ्याक्सिन लगाउन या त साप्ताहिक रूपमा कोरोना परीक्षण गर्न नियम लागु गरेका छन् भने भ्याक्सिन लगाउने सर्वसाधारणलाई एक सय डलर दिने नियम लागु गरेका छन् ।

न्यु योर्क सिटीमा कुल वयस्क जनसङ्ख्याको ६६ प्रतिशतले पूर्णपुरमा भ्याक्सिन लगाइसकेका छन् । तर कतिपय भागहरूमा भने भ्याक्सिन लगाउने दर अत्यन्तै कम रहेको जनाइएको छ । नयाँ कार्यक्रम अन्तरगत न्यु योर्क सिटीले न्यु योर्क पासका लागि चाबी नामको कार्यक्रम सुरुवात गर्दै छ ।

यसैबिच  सीडीसी निर्देशिका अनुरूप अब न्यु योर्क सिटीसहित न्यु योर्क २३ वटा काउन्टीहरू भ्याक्सिन लगाएकाहरूले पनि मास्क लगाउनुपर्ने अन्तरगत परेका छन् । ६२ वटामध्ये २३ वटा काउन्टीले आइतबारसम्म कोरोना सङ्क्रमणमा बढोत्तरीको उक्त थ्रेसहोल्ड पार गरेका हुन् ।

आइतबार न्युयोर्कको कोरोना संक्रमण दर साप्ताहिक औसतमा २ दशमलव ५ प्रतिशत पुगेको छ । जुन मध्य अप्रिल यताकै सबैभन्दा उच्च हो । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमण दर उच्च बनेको छ ।

सीडीसीको निर्देशिका अनुसार साप्ताहिक संक्रमण दर हिसाब गर्दा हरेक एक लाख जनसङ्ख्यामा औसतमा ५० जनामा संक्रमण दर देखिएको खण्डमा वा कोरोना संक्रमण दर परीक्षण गरिएकाहरूमध्ये ८ प्रतिशतभन्दा बढीमा देखिएमा त्यस क्षेत्रमा भ्याक्सिन लगाएकाहरूले पनि इनडोर स्थानहरूमा मास्क लगाउन सिफारिस गरिएको छ । सुरुमा न्यु योर्क सिटी, लंग आइल्याण्ड, ग्रिनका काउन्टीले उक्त थ्रेसहोल्ड पार गरेका थिए ।

तर आइतबारसम्म अन्य काउन्टीहरु पनि उच्च जोखिम भएको क्षेत्रमा परेका छन् । अरेन्ज, पुटनाम, वेष्टचेस्टर, इरी, मुनरो, ओनोन्डागा लगायतका काउन्टीहरु पनि मास्क लगाउनुपर्नेमा परेका छन् । आइतबार रातीसम्म नासु, म्यानहटन, ब्रुकलिन र स्टेटन आइल्याण्डले उच्च जोखिमपूर्ण थ्रेसहोल्ड पार गरेका छन् । जुन हरेक १ लाख जनसङ्ख्यामा कम्तीमा १ सय जनामा सङ्क्रमण हो । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्