पतञ्जलि योग समितिले घरघरमा जडीबुटीका बिरुवा रोपेर जडीबुटी दिवस मनायो

जडीबुटीको महत्त्व बुझ्न नसक्दा नेपालमा पाइने धेरै जडीबुटी स्याउला र सोत्तरका रूपमा प्रयोग भइरहेको वनस्पति विज्ञ क्षेत्रीको भनाई


दाङ । पतञ्जलि योग समिति दाङले आफ्ना सदस्यहरूका घरमा जडीबुटीका बिरुवा रोपेर आज बुधवार विश्व जडीबुटी दिवस मनाएको छ । जडीबुटी दिवस तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको जन्मोत्सवको अवसरमा जिल्लाभर रहेका आफ्ना सदस्यहरूले लगाउने ठाउँ हुने सदस्यले धेरै र नहुनेले घरको गमलामा भए पनि कम्तीमा पनि तीन वटा बिरुवा लगाएर दिवस मनाइएको पतञ्जलि योग समितिका जिल्ला प्रभारी उदयबहादुर डाँगीले दिनुभयो ।

दिवसकै अवसरमा बिहान भर्चुअल माध्यमबाट नेपालमा पाइने जडीबुटी र त्यसको महत्त्वका बारेमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वनस्पति विज्ञ डिल्लीबहादुर क्षेत्रीले नेपालमा ७ सय प्रजातिका जडीबुटी पाइने बताउनु भएको छ । विश्वमै अनौठो विशिष्ट खालको हावापानी भएको नेपालमा ७ सय प्रजातिका जडीबुटी नेपालमा पाइने र ती मध्ये १ सय ५० प्रजातिका जडीबुटीको बिक्रिवितरण भइरहेको बताउनुभयो ।

जडीबुटीको महत्त्व बुझ्न नसक्दा नेपालमा पाइने धेरै जडीबुटी स्याउला र सोत्तरका रूपमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । वनस्पति विज्ञका रूपमा सरकारको उपसचिव भएर ३५ वर्ष काम गर्नु भएका क्षेत्रीले साबिकको राप्ति र कर्णाली अञ्चल विश्वमै पाइने दुर्लभ जडीबुटीको उर्वरथलो भएको बताउनुभयो ।
विश्व समुदाय आधुनिक चिकित्सा पद्धतिमा धेरै विश्वास गर्ने, जडीबुटीका बारेमा गहिरो अध्ययन अनुसन्धान नहुने, अध्ययन भएका विषयवस्तु कार्यान्वयनमा नल्याउने, जडीबुटीको सही पहिचान गरी मात्रा नमिलाई खाने, तुरुन्तै प्रतिफल खोज्ने प्रवृत्तिले गर्दा जडीबुटीको संरक्षण र उपयोग कम भएको क्षेत्रीले बताउनुभयो ।

पतञ्जलि योग समिति दाङका प्रभारी उदय बहादुर डाँगीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वनस्पति विज्ञ डिल्लीबहादुर क्षेत्री र पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका महासचिव घनश्याम अधिकारीले नेपालमा पाइने जडीबुटीका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहभागीहरूले जडीबुटीका बिरुवा प्रदर्शन गर्नुका साथै त्यसका प्रयोगको अवस्थाका बारेमा सुझाव राख्नु भएको थियो ।

योग शिक्षक अन्जु रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम युवा प्रभारी केदनारायण आचार्य, योग समितिका सदस्य विष्णुप्रसाद खुलाल, महिला प्रभारी लक्ष्मी आचार्य, बालप्रभारि सुदीप अर्याल लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण पतञ्जलि योग समिति तुल्सीपुर उपमहानगरपालिका १९ कि संयोजक शिला भट्टराइले गर्नु भएको थियो । दाङका १ सय ९३ वटा साधना केन्द्र मार्फत बिहान नित्य योग शिक्षा दिँदै आएको पतञ्जलि योग समिति दाङले कोरोना भाइरसको सङ्क्रमण बढेपछि विगत एक वर्षदेखि अनलाइन मार्फत योग शिक्षा प्रदान गर्दै आइरहेको जुन मार्फत अनलाइन योग शिक्षा सञ्चालन कार्यक्रमका संयोजक केतनारायण आचार्यले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्