आफू फेरि स्वास्थ्यमन्त्री बन्ने गगन थापाको इच्छा !



काठमाडौँ। नेपाली काँग्रेसका युवा  नेता गगन कुमार थापाले पुनः स्वास्थ्य मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। बुधवार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले निर्णय प्रधानमन्त्रीको हातमा रहेको बताए।

‘प्रधानमन्त्रीलाई फ्री ह्याण्ड भएर काम गर्न दिनु पर्छ,’ पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेका नेता थापाले भने, ‘सांसदमै बस भने पनि ठिक छ, सरकारमै आएर काम गर भने पनि काम गरिन्छ।’

गठबन्धनको सरकार भएका कारण आफूले मन्त्री बन्नका लागि दबाब नदिएको थापाको भनाइ छ। उनले न्यूनतम साझा कार्यक्रम आएपछि केही दिन भित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे।

पार्टीको महाधिवेशन भने सार्न नहुने थापाको भनाइ छ। थापाले भने, ‘महाधिवेशन सार्नु हुँदैन। सदस्यता विवाद देखाएर महाधिवेशन सार्नु पर्ने आवश्यकता छैन। बरु केही दिन तलमाथि हुनसक्छ। महाधिवेशन नभए पार्टी नै असफल हुन्छ। यो असफलता सामूहिक हुन्छ।’

भूमि आयोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्ता भर्ना गरेका कारण खारेज गर्नु परेको थापाको तर्क छ। थापाले भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकालीमा भएको घटनाको अनुसन्धान गर्न सरकार डराउन नहुने बताए । डिसीनेपालबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्