समाचार

नेपाल प्रेस युनियन सुनसरीद्धारा दुर्घटना बापतको रकम हस्तान्तरण

By Thaha - Online

August 04, 2021

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैयाँ बुधवार हस्तान्तरण गरिएको हो । युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बिमा गरिएको थियो ।

ती मध्ये पहिलो पटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको उनले बताए । ‘प्रदेश १ मै पहिलो पटक पत्रकारहरूलाई यसरी दुर्घटना बिमा गर्नु र रकम दिनु नौलो सुरुवात हो,’ अधिकारीले भने, ‘पत्रकारका निम्ति काम गर्ने संस्थाले पहिलो पटक विशुद्ध बिमाबाट आएको रकम हामीले हस्तान्तरण गरेका हौँ ।’ ६ दिन अघि अजोड इस्न्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँमा युनियनका अध्यक्ष अधिकारी र नेपाल प्रेस युनियन सुनसरीका सदस्य विवेक विवश रेग्मीले दुर्घटना बि मित पत्रकारको डकुमेन्ट बुझाएका थिए ।

एक हप्ताभित्र रकम प्राप्त हुने आश्वासन पाएको केही दिनमै रकम प्राप्त भएसँगै बुधवार उक्त रकम हस्तान्तरण गरिएको हो । अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बिमा समेत गरेको थियो । बि मित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना सङ्क्रमण भएको थियो भने हालसम्म ३० जनाले एक लाखका दरले रकम समेत पाइसकेका छन् । ‘पहिलेको लटमै कोरोना लागेका तीन जनासहित १५ जनाको रकम आउन बाँकी छ,’ अधिकारीले भने, ‘सरकारबाटै पैसा रोकिएका कारण उपलब्ध नभएकाले वितरण गर्न पाइएको छैन, रकम आउने आश्वासन पाएका छौँ ।’

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सराहनीय काम गरेको बताए । पत्रकारहरूको हितमा काम गर्नका निम्ति चाहेको अवस्थामा जसरी पनि गर्न सकिने उदाहरण सुनसरी युनियन भएको उनको तर्क छ । दुर्घटना बि मित पत्रकार विराट गौतम (अनुपम) ले पैसा बुझिसकेपछि युनियनले पत्रकारहरूको हितका निम्ति गरेको सकारात्मक कामको प्रशंसा गरे । ‘दुर्घटना बिमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बिमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ उनले भने, ‘दुर्घटना बिमा नगरेको भए ठुलो आर्थिक क्षति हुन्थ्यो, युनियनले यसरी पैसा दिनुले धेरै आर्थिक राहत भएको छ ।’

उनले व्यक्तिगत रूपमा वा अन्य संस्थामार्फत बिमा गरिएको भए प्रक्रिया लामो हुने र पैसा आउन पनि समय लाग्ने भएकाले आफ्नो डकुमेन्ट दिएको केही दिनमै युनियनले बिमा बापतको पैसा दिनुले खुसी भएको बताए । उनी गत वैशाख १६ गते समाचार सङ्कलनका क्रममा लडेर घाइते भएका थिए ।