यूएईमा नेपालसहित ६ देशका नागरिकले प्रवेश अनुमति पाउने



काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) ले शसर्तरुपमा नेपालसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने भएको छ । युएईले कोरोनाको दोस्रो डोजको खोप लगाएको १४ दिनपछि मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने बताएको छ ।

लामो समयदेखि नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाएको युएईले मङ्गलवार करोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका यात्रु तथा युएईमा आवासीय अनुमति पत्र प्राप्त व्यक्तिहरूलाई प्रवेश अनुमति दिने निर्णय गरेको युएईका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

युएईको राष्ट्रिय आपत्कालीन तथा विपद् व्यवस्थापन प्राधिकरणले मङ्गलवार नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डामा अलपत्र आवासीय अनुमति रहेका यात्रुलाई प्रवेश अनुमति दिइने जानकारी दिएको हो । फर्किन पाउने प्राथमिकताको सूचीमा चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रका प्राविधिक, शैक्षिक संस्थाका कर्मचारी र विद्यार्थी, मानवीय सेवाका कर्मचारी र युएईको सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।

कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपाललगायत १६ देशका नागरिकहरूलाई प्रवेश प्रतिबन्ध लगाएका कारण घर बिदामा आएका हजारौँ नेपाली रोजगारीमा फर्किन पाएका छैनन् । युएईले ५ अगस्ट बिहीबारदेखि नै नेपालीमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने बताएको छ ।

आबुधाबी स्थित नेपाली दूतावासले ४८ घण्टाभित्रको कोरोनाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने, यूएई अवतरण गरेपछि विमानस्थलमा पनि पीसीआर गरी क्वारेनटिन बस्नुपर्ने लगायतका अन्य स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गर्नुपर्ने बताएको छ ।

नेपाली दूतावासले वैदेशिक रोजगारसहित सबै प्रकारका भ्रमणमा उक्त मुलुक जानेले अनिवार्य रूपमा क्युआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमण बढेपछि हाल युएईमा नेपालबाट उडान रोकिएको छ । तर नेपाली दूतावासले पछिल्लो समय खाडीका धेरै देशहरूले यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणमा क्युआर कोड पनि मागिरहेकाले युएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्युआर कोड अनिवार्य रुपमा लिन भनेको हो ।

नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनु पर्नेहरुले कोरोना विरुद्धको खोप लिई नसकेको अवस्थामा कोरोना भाइरस भ्याक्सिन सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा गएर प्री–इनरोलमेन्ट फारम भरी खोप लगाई क्युआर कोडसहितको खोप प्रमाणपत्र लिनुपर्ने दूतावासको भनाइ छ ।

उता साउदी सरकारले आइतबारदेखि पर्यटक भिसा वाहकलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । साउदीले आफ्नो मुलुकले मान्यता दिएका कोरोनाविरुद्धको खोप लगाएका पर्यटकहरूलाई अगस्ट १ देखि प्रवेश अनुमति दिएको बताएको छ । साउदी अरबले अस्ट्राजेनेका, फाइजर, जोन्सन एण्ड जोन्सन र मोडर्नाका खोपलाई मान्यता दिएको छ । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्