काठमाडौँ । ‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्सा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्।
धनुषा जिल्लाको सबैला नगरपालिकामा जन्मेका झा निम्न वर्गीय परिवारका हुन्। सुरुदेखि नै सरकारी स्कुलमा पढ्दै आएका उनले विज्ञान विषय लिएर कक्षा ११ र १२ काठमाडौँको त्रिपुरेश्वस्थित विश्व निकेतन माविमा अध्ययन गरे।
दुई सय पूर्णाङ्कको एमबिबिएस प्रवेश परीक्षामा झाले एक सय ८६ अङ्क प्राप्त गरेका छन्। यसबाट सरकारी विद्यालयका विद्यार्थी पनि कमजोर नभएको प्रमाण मिलेको उनका दाजु अम्वेशले बताए। विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रवार आशिकलाई अबिर र खादा ओढाएर सम्मान गरे।
सम्मान कार्यक्रममा सहभागी अम्वेशले आशिक सानैदेखि विलक्षण प्रतिभाको रहेको बताए। ‘भाइ सानैदेखि कोर्सका भन्दा विज्ञानका किताब बढी पढ्थ्यो,’ अम्बेशले नागरिकसँग भने, ‘आशिक सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेझैं थियो।’ सम्मानपछि आशिकले दृढ विश्वास र सङ्कल्प लिएकै कारण लक्ष्यमा सफलता हासिल गरेको बताए । यो खबर नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।