काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रस्थित नबिको बिस्कुट कारखानामा गए राती २ बजेर १५ मिनेटमा सुरु भएको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि नियन्त्रणमा आएको हो ।
नेपालकै पहिलो बिस्कुट कम्पनीका रूपमा सञ्चालित बालाजुको नबिको प्रालिमा आज बिहान एक्कासि आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ ।
उक्त आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीद्वारा ट्रस घर–१ भत्काइएको छ भने नेपाली सेनाको दमकलसहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकोप्टर समेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासीको संयुक्त प्रयासमा उक्त आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नबिको प्रालिमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासि आगलागी भएको हो ।
तीन सय भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि के कति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो ।
उक्त आगलागीबाट नबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।