काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ ।
नेपाल–खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो ।
एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरूलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरिसकेको छ ।
अबको केन्द्रीय कमिटी बैठकमा विधान अधिवेशनको तयारीबारे छलफलको एजेण्डा छ । संस्थापन पक्षले सहमतिको प्रयास नगरेको भन्दै नेपाल पक्षले समेत गत बिहीबार र शुक्रवार केन्द्रीय कमिटी बैठक गरेको छ ।
बैठकले समान आधारमा एकताका लागि संस्थापन पक्षसँग संवाद गर्ने लगायतका निर्णय गरेको थियो । तर, संस्थापन पक्ष अझै पनि एकताका लागि अग्रसर नभएको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई ‘सुध्रिने’ मौका भन्दै एकताका लागि सात दिनको समय दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।