काठमाडौँ । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खोप सोमवारबाट लगाइँदै छ । यसअघि एस्ट्राजेनेकाले नै विकास गरेको तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दोस्रो मात्राको रूपमा उक्त एस्ट्राजेनेका खोप लगाइने छ ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरूमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
जिल्लाभरका सबै नगरपालिका तथा महानगरपालिकाका सबै वडा कार्यालय र विशेष तोकिएका स्वास्थ्य संस्थामा उक्त खोप लगाउन सकिनेछ । यो खोप विशेष गरी ५५ वर्षमाथिकालाई र अन्य लक्षित समूहलाई लगाइनेछ ।
स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरूलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।