विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको पुनर्नियुक्ति



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले  पुनर्नियुक्ति  पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार गराएको छ । योसँगै मन्त्रालयले बुधवार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ ।

यस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न उर्जामन्त्रीलाई निर्देशन दिएको समाचार बाहिरिएको थियो  मङ्गलवार प्रधानमन्त्री देउवाले हालका निर्देशक हितेन्द्रदेव शाक्यसँग राजीनामा माग गरी घिसिङलाई निर्देशकमा नियुक्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको सचिवालयले जनाएका थिए । 

यसअघि केपी ओली नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो। र पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जा मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह भनेकी थिइन् । तर, शाक्यले आफू जहाँ खटाए पनि जाने तर राजीनामा भने नदिने अडान राखेका थिए ।

शाक्यलाई ऊर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी त्यता पठाइएको छ । यसअघि ४ वर्ष विद्युत् प्राधिकरणको बागडोर सम्हालेका कुलमानले लोडसेडिङ अन्त्य गर्दै बिजुलीको नियमिततामा उल्लेख्यक सुधार गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्