नौ करोड लागतमा हल निर्माण गर्दै दीपक–दीपा



काठमाडौँ । हास्य कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरूले सिनेमा घर निर्माण गरिरहेका छन् । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुई वटा स्क्रिन रहने सिनेमा हलमा चार सय सिट रहने छन् । 

“दुई/दुई सय गरेर दुई वटा स्क्रिनमा चार सय सिट हुनेछन्,” दीपक भन्छन्, “करिब ९ करोड लगानी हुने हाम्रो अनुमान छ ।” दीपकसँगै दीपा श्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने छ । 
 
भाइरस महामारीको कारण जारी निषेधाज्ञा बिचमा पनि अहिले हल निर्माण धमाधम भइरहेको छ । दसैँसम्म सक्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको हल चैत्रसम्ममा सकिने अनुमान गरिएको छ । ‘केही हल बन्द भएकाले सबैतिर हल बन्द भएको नेगेटिभ समाचार फैलिरहेको छ’ दीपकले भने, ‘सकारात्मक सन्देश पनि जाने र चलचित्रकर्मी भएको हिसाबले आफूले जानेको पेसा पनि यही भएकोले हलमा लगानी गरिएको हो ।’ घरमा र टिभीमा फिल्म हेरेको भन्दा हलमा हेरेको आनन्द बेग्लै हुने भएकोले हलमा चलचित्र हेर्ने संस्कृतिलाई जीवितै राख्न समेत आफूले हललाई प्राथमिकता दिएको दीपकले सुनाए ।

दीपक दीपाको समूहले केही अगाडि ‘छ माया छ पक्कै’ नामक फिल्म निर्माण गरेका थिए । कोरोना सङ्क्रमणको त्रासका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । २८ सिनेमा हल बन्द हुँदा प्रति सो ७ हजार सिट घट्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्