नभेटिएकी उनीलाई प्रेमपत्र



सैघाली खबर,

मैले तिमीलाई केही कुरा भन्न यही दिन नै कुर्नुपर्छ भन्ने कुनै कारण थिएन । तर जताततै भ्यालेन्टाइन र प्रेमको सम्बन्ध जोडेर चर्चा परिचर्चा गरिँदा मैले तिमीलाई अझ प्रगाढ ढङ्गले याद गरिरहेको छु ।

तिमी पक्कै छौ यहीँ कहीँ, तर कहाँ कुन ठाउँमा के गर्दैछौं मलाई थाहा छैन । तिमीलाई प्रत्यक्ष सम्बोधन गरेर लख्ने कुनै शब्द भेटेको छैन किनकी तिम्रो र मेरो साइनो अहिले मूर्तरुपमा आएको पनि छैन । कहिले आउँछ त्यो पनि भन्न सक्दिन । तिमी र म दुलाहा दुलही भैहाल्नु भन्दा पहिला मसँग भएका भावनाहरु म तिमीसँग सुनाउन चाहन्छु ।, आशा छ तिमीले मलाई बुझ्नेछ्यौ ।

यो संसार आफैंमा विशाल छ । यसको आफ्नै सुन्दरता पनि छ । सुन्दरता नदेख्नेलाई कुरुप नजर आउनु पनि अस्वभाविक होइन होला । संसार प्रकृतिको दृश्य रुप हो । प्रकृति सबैको समष्टि रुप हो । यसमा भएका हरेक जीव यसकै सहारामा जिएका हुन्छन् भन्ने तिमीलाई पनि थाहै होला । प्रकृति र जीवलाई अलग्याउन सकिन्न अझ भनुँ अलग राख्न खोज्नु मूर्खतापूर्ण साहस हो । प्राणी जीउनको लागि प्रकृतिको कुनै न कुनै हिसाबले सहारा लिइरहेको हुन्छ, त्यस्तै प्राणीबीच पनि एकअर्कामा जीउने सहारा वा सान्निध्य खोजिएको देखिन्छ । यो आफैंमा प्रकृतिको नियम अनुकूल छ । हरेक जीवले यसलाई स्वीकार गरेको पनि छ र सोहीअनुसार दिनचर्या चलाइरहेको पनि देखिन्छ । हेरक प्राणीमा भाले पोथीको समागमबाट अर्को बच्चा पैदा हुनु पनि प्रकृतिकै पद्धति अनुरुप छ । तर के अरु प्राणीजस्तै मनुष्य पनि सन्तान उत्पादन गर्नकै लागि मात्रै हो त यो प्रश्नको राम्रो उत्तर मैले पाउन सकेको छैन ।

तिमीलाई थाहै छ मानिसको मन हुन्छ र बुद्धि पनि हुन्छ । हुन त आत्मा पनि हुन्छ भनिन्छ तर त्यो कस्तो हुन्छ, कहाँ हुन्छ भन्ने हालसम्म मेरा लागि खोजीकै विषय बनेको छ । साधु सन्तको कुरा सुन्दा लाग्छ यो संसारमा अल्झिनु व्यर्थ छ । यो वास्तविक संसार होइन यो त एक मिथ्या हो । एक नाटक घर, एक रङ्गमञ्च हो, जहाँ सबै आ आफ्नो भूमिका अनुसारको अभिनय गरिरहेका छन् । तर सांसरिक चालचलन र प्रकृतिको सहज बहाबअनुसार चल्ने हो भने हामीले पनि त्यही गर्नुपर्छ जो अरुले गरिरहेका छन् । मलाई फरक हुने नाममा जंगल पस्नु छैन, भगौडा बन्नु छैन तर यो संसारको आपाधापी र बेचैनीसँग पनि म राजी छैन । यहाँ मान्छे साँच्चै जिएका छन् कि जिएको जस्तो अभिनय मात्रै गरेका छन् मैले पनि जान्न सकेको छैन ।

आत्मज्ञान के हो त्यो मैले पनि राम्ररी अनुभव गरेको छैन । तर भनेको सुनेको छु आत्मज्ञान बिना मान्छेको जीवन सार्थक हुँदैन रे । ज्यान पाल्ने र बच्चा जन्माउने त पशुपंक्षीले पनि गरेकै छन् नी मान्छेको उद्देश्य त्यतिमै सीमित भयो भने के हामी पनि जनावर बराबरकै भएनौं र रु के हामी माथिल्लो श्रेणीको प्राणी कहलिन लायक हुन्छौ त रु पक्कै हुँदैनौ होला । त्यसो भए के गर्ने त अर्को बेचैनीले समाउँदो रैछ मान्छेलाई । बेचैनी असन्तोषबाट जन्मन्छ र सन्तोषमा गएर आनन्दमा परिणत हुन्छ । आनन्द एक किसिमको यस्तो भाव हो जहाँ सबै कुराको परितुष्टि मिल्छ । म त्यही आनन्दको खोजीमा छु जुन सामान्य सुख दुःखको परिचक्रभन्दा पर छ । जो साश्वत छ । जो मृगतृष्णा हैन । जो केबल आनन्द हो । अमृत हो । तर

यहाँ अमृतको खोजीमा लाग्नेहरु मदिरामै हराएका पनि छन् । त्यो म जान्दछु कि उनीहरुमा कहीँ न कहीँ अमृतको प्यास बाँकी नै छ । उनीहरु पनि आनन्दका योग्य छन् । उनीहरुले पनि आनन्द पाउनुपर्छ । उनीहरुलाई पूरै गलत भन्न मिल्दैन किनकि उनीहरुले कम्तीमा अमृतको खोजीमा मदिरासम्मको अनुभव लिने साहस त गरे । तर मैले त त्यति साहस पनि जुटाउन सकेको छैन । मेरो अर्थ आनन्दको लागि मदिरा लिनुपर्छ भन्ने पक्कै होइन बरु आनन्दको नाममा उनीहरुले साहस त गरे तर त्यो क्षणिक रमझम हो भन्ने जानेनन् । एकदमै नजिकबाट नियालेर हेर्यौं भने यो संसारमा हामीले पाउने खुसी त्यहि मदिराले दिने खुसी भन्दा ज्यादा देखिन्न किनकि हामी सुखको खोजीमा ज्यादा छौ र सुखको अर्को पाटो दुःख पनि हो यो हामीले विस्मरण गरिदियौ । विवाहपछि हामीले पाउने आनन्द पनि क्षणिक सुखमै सीमित हुने त हैन भन्ने मेरो जिज्ञाशा हो । यो विषय तिमीलाई दर्शनशास्त्रमा गरिएको व्याख्या जस्तो पनि लाग्न सक्छ तर यथार्थताको गहिराइमा पुग्दा के यो अव्यवहारिक लाग्ला त रु यो विषयमा तिमीसँग अरु धेरै घोत्लिएर कुरा गर्ने रहर छ तर हामी सँगै भएपछि पनि गर्न सकिन्छ होला ।

आजको पत्रमा मैले तिमीलाई केही विशेष प्रश्न सोध्दैछु जुन प्रश्न तिमीलाई र मलाई नजिक बनाउने वा सँगै जोड्ने आधार वा पुल पनि बन्न सक्छ र एक्लै एक्लै जिउने मनस्थितीमा पनि पुर्याउन सक्छ । मेरो पहिलो प्रश्न हो– प्रेम र विवाहका सम्बन्धमा आम मानिसको जुन धारणा छ त्यसभन्दा तिमी कति फरक छौं रु मैले जे देखेको छु त्यसको आधारमा मैले भन्नुपर्दा यो संसारमा असलमा प्रेम साहै्र बहुमूल्य छ । तर प्रेम या लवको नाममा जे देखिएको छ त्यो लव भन्दा पनि लोभ बढी हो । किनकी लव या प्रेमले दिन मात्रै चाहन्छ लिने लोभ राख्दैन । तर लोभ लवको ठ्याक्कै उल्टो छ । त्यसैले प्रेम भ्यालेन्टाइनको बलीदानीजस्तो नभएर हिटलरको हिसावकिताबजस्तो लाग्छ । प्रेम बदला होइन प्रेम एक संगीत हो एउटा सारङ्गीजस्तो जसलाई जति रेटेपनि त्यति नै मिठो धुन आउँछ ।

अनि विवाहको जुन प्रसंङ्ग छ जो सारा संसारका मान्छेले गरेकै छन् । मैले माथि नै भनिसकें कि यो अप्राकृतिक होइन, नितान्त प्राकृतिक हो । तर प्राकृतिक हो भन्दैमा विवाहप्रति आँखा चिम्लन म सक्दिन किनकी विवाहले जति समस्या यो पृथ्वीमा अर्को कुनै व्यवस्थाले ल्याएको छैन । विवाहकै कारण परिवार बन्छ । परिवारपछि समाज । परिवार र समाज दुवै व्यक्तिलाई बाँध्ने यन्त्र हुन् ताकी ऊ खुला आकाशमा स्वतन्त्र उड्न नसकोस् । एउटा पखेटा भएको चरालाई पिँजंडामा थुनेर चारो दिएजस्तो लाग्छ हाम्रो समाज पनि । पिँजडाको चरालाई उडेर नभागोस् भनेर पहिले पखेटाहरु छाँटिन्छ र पछि उड्न लगाइन्छ, यस्तै हो हाम्रो समाज पनि । पहिले बन्धनहरुमा झेलीन्छ र स्वतन्त्रता दिएको नाटक गरिन्छ ।

अनेक बेथिति र अव्यबस्थाका बीचमा पनि व्यवस्थित जीवन जीउने हक हामीलाई नभएको हैन । विवाह एकरुपले बन्धन हो तर पनि विवाहपछि सबै स्वतन्त्रता लुटिन्छन् नै भन्ने हुँदैन त्यो आपसी बुझाइ र व्यवहारमा भर पर्छ । हाम्रो समाजमा श्रीमान् श्रीमतीले एकअर्कालाई आफ्नो मनमर्जी गर्ने सम्पत्तिका रुपमा प्रयोग गरिरहेको त तिमीलाई पनि थाहै होला । यसो हेर्दा लाग्छ यो माया गरिएको हो तर वास्तवमा यो एक अर्कामाथिको शासनको पराकाष्ठा हो । तिमी स्वभाविक रुपमा अहिले जस्ती छौ र म अहिले स्वभाविक रुपमा जस्तो छु त्यस्तै हामी सँगै हुँदा पनि रहन सक्छौ कि सक्दैनौं स्वतन्त्रताको यो मूल प्रश्न हो । त्यो भन्दा अलग अभिनय गर्नुपर्यो भने जीवनको असली आनन्द हराएर जान्छ ।

तिमीले गर्ने हरेक क्रियाकलापमा मलाई शंका गर्ने र मेरा हरेक क्रियाकलापमा तिमीलाई शंका लाग्यो भने त्यो प्रेम हुन सक्दैन । आपसमा हामी एक हुनुको अर्थ हरेक कुरा हामी अवगत तथा एकअर्काप्रति इमान्दार बन्ने हो तर हरेक कुरामा हस्तक्षेप हैन । हस्तक्षेपले कसैलाई पनि स्वतन्त्र फक्रन र फैलन दिँदैन । त्यस्तो हाम्रो सम्बन्धमा पनि नहोस् भन्ने चाहना हो । एकअर्काले आपसी विगतलाई स्वीकार्दै उत्साहपूर्ण वर्तमानमा जिउँदै सुन्दर भविष्य निमार्णको बाटोमा यात्रा गर्न यी कुराहरुमा तिमी सहमत छौ भने तिमीलाई यो मेरो प्रेम प्रस्ताव हो । अरु धेरै कुरा पछि भनौंला । तिमी जहाँ भए पनि हेप्पी भ्यालेन्टाइन डे ।बा्रहखरी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्