कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लङ्घन गरेकै कारण सङ्क्रमण बढेको र कतिपयमा जटिल समस्यासमेत देखिएको कोभिड १९ उपचारमा संलग्न चिकित्सकले औँल्याएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाएपछि सङ्क्रमित भएर दैनिक २ देखि ३ जना यो अस्पतालमा आउने गरेका छन्। दुवै डोज खोप लिएर पनि जटिल समस्या देखिएका दुईचार जना बिरामीले खबर गरेको सरुवा रोग अस्पतालकै डा. शेरबहादुर पुनले बताए। चिकित्सकका अनुसार खोप लगाएर यान्टिबडी बनिनसकेकाहरू पुनः सङ्क्रमित भएर उपचारमा आएका छन्।
पहिलो डोज खोप लगाउने बित्तिकै सङ्क्रमित भएर आउने धेरै रहेको अस्पतालले जनाएका छन्। चिकित्सकका अनुसार दुवै डोज लगाए पनि खोपले कतिपयको शरीरमा यान्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना सङ्क्रमण भई जटिल समस्या आउन सक्छ। तर यस्तो सङ्ख्या कम हुने गरेको चिकित्सकले औँल्याएका छन्। दुवै डोज लगाएको धेरै समय बितेपछि शरीरमा यान्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना सङ्क्रमणले जटिल समस्या ल्याउन सक्छ। खोप लिएर शरीरमा कोभिड १९ विरुद्ध यान्टिबडी बनेको अवस्थामा पनि सङ्क्रमित हुन्छन्। यान्टिबडी बनेपछि सङ्क्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन। तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा सङ्क्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरूले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई सङ्क्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।