राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा गढवा गाउँपालिका ३ की ४० वर्षीय टेकरानी चौधरीको चार घण्टापछि सकुशल उद्धार गरिएको छ।
हिजो दिउँसो चार बजे गढवा गाउँपालिका ३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही नगरपालिका ४ बुटकौवा स्थित टापुबाट सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए। उनको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । पौडिन जानेकी चौधरी पानीमा टाउको नडुबाई उत्तानो परेर तैरिएकी थिइन्।
बाढीमा बेपत्ता भएकी चौधरी सकुशल फर्किने आशा आफन्तले मारिसकेका थिए । बाढीमा बेपत्ता भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्धारमा परिचालन भएका थिए । बुटकौवाको टापुबाट महिलाको उद्धार गरिएको हो ।
दिनभर पानी पर्दा खोला र नदीहरूमा बाढी आउँदा विभिन्न ठाउँमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । कतिपय ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।