इजरायल जान चाहने नेपाली कामदारका लागि आवेदन अनलाइनबाटै, परीक्षा भदौ दोस्रो साता



इजरायलले केयर गिभिङका लागि एक हजार जना नेपाली लैजान लागेको छ । एक हजारमध्ये सात सय महिला र ३ सय पुरुष जान पाउने छन् ।

इजरायलले नेपालबाट नर्सिङ होम, अस्पताल, केयर होम लगायतका स्थानमा केयर गिभरको काम गर्न नेपालबाट कामदार लैजान ‘जिटुजी’ सम्झौता भएको हो। यसअघि पनि इजरायलले नेपालबाट कृषि क्षेत्रमा कामदार लगेको थियो ।

यस पटक गत जनवरीमा इजरायलमा नेपाली कामदार पठाउनका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर भएको हो। केही ढिला गरी बनेको कार्यविधि र कोरोनाका कारण इजरायल जाने प्रक्रिया ढिला सुरु भएको छ ।

कोरोना सङ्क्रमण फैलने डर भएका कारण अनलाइनमार्फत नै आवेदन दिन पाउने व्यवस्था मिलाउनका लागि झन्डै एक महिना लागेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बताउँछन् । उनका अनुसार आवेदन अनलाइनमार्फत नै दिन पाउने भए तापनि परीक्षा चाहिँ भौतिक उपस्थितिमा नै हुनेछ ।

इजरायल रोजगारीमा जानका लागि मङ्गलवार साँझसम्म २० हजार ६८१ जनाले युजर आइडी बनाएका छन्। तर ४ हजार ७९५ जनाले अनलाइनमार्फत आवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

यसरी आवेदन दिनेमा महिला २ हजार ९७ र पुरुष २ हजार ६९८ पुरुष छन्। साउन ३२ गतेसम्म इच्छुक नेपालीले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् ।

कसले दिन पाउँछन् आवेदन?

२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ। इच्छुक उम्मेदवारले विभागको आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल ४५ केजी हुनुपर्ने छ ।

शैक्षिक योग्यता कम्तीमा दस कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ। साथै नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा ३ महिनाको तालिमप्राप्त गरेको हुनुपर्ने विभागले जनाएको छ ।

आवेदक विगतमा इजरायलमा गएर काम नगरेको तथा एकाघरको सदस्य समेत इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने विभागले जनाएको छ ।

इच्छुक उम्मेदवारले विभागको वेबसाइटमार्फत आवेदन दिन पाउने छ ।

खर्च कामदारले नै व्यहोर्नुपर्ने
‘जिटुजी’ सम्झौता भएर कामदार इजरायल जान पाउने भए पनि लागत खर्च कामदारले नै व्यहोर्नुपर्ने विभागले बताएको छ ।

रोजगारीमा जान चाहनेले भिसा पाइसकेपछि आफैँले टिकट काटेर आफ्नै खर्चमा जानुपर्ने हुन्छ। भिसा शुल्क मात्रै सम्बन्धित रोजगारदाता आफैँले व्यहोर्ने छ। विभागका अनुसार इजरायल जान टिकटको लागि अनुमानित डेढ लाख लाग्छ। पासपोर्ट बनाउन, छनोट भएर इजरायल जानुभन्दा पहिले पूर्व प्रस्थान अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, वैदेशिक कल्याणकारी कोष लगायतमा खर्च लाग्छ। त्यो सबै रकम सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने छ ।

भदौ दोस्रो साता परीक्षा

अहिले विभागले इजरायल रोजगारी जान चाहने आवेदकको आवेदन बुझैको मात्रै छ। उनीहरूको ट्रेनिङको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र नागरिकता लगायतको सामग्री जाँच नगरेको विभागले जनाएको छ ।

इजरायल जानका लागि भदौको दोस्रो सातासम्म परीक्षा लिने तयारीमा छौँ,’ वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनार भन्छन्, ‘अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था भए पनि परीक्षा भौतिक उपस्थितिमा नै हुन्छ ।’

८० पूर्णाङ्कको भाषा परीक्षा र २० पूर्णाङ्कको अन्तर्वार्ता हुन्छ। भाषा परीक्षामा टिक लगाउने प्रश्नहरू आउने छन्। उक्त परीक्षाको जाँच कम्प्युटरबाट हुने भएकोले परीक्षा भएको भोलिपल्ट नै रिजल्ट आउने विभागको भनाइ छ ।

सरकारले पछिल्लो समय भौतिक उपस्थितिमा हुने परीक्षा स्थगित गरेको छ। तर विभागले इजरायल जानु पूर्व लिइने परीक्षा सामाजिक दूरी कायम गर्दै भौतिक उपस्थितिमा नै गरिने भएको हो। जसका लागि विभागले सिसिएमसीलाई पत्राचार गरेको महानिर्देशक दवाडीले जनाए ।

यी सबै परीक्षाबाट १७ को हाराहारीमा ‘मेरिट लिस्ट’ विभागले सार्वजनिक गर्नेछ। त्यसपछि मात्रै अन्तर्वार्तामा सामेल हुन पाउँछन्। त्यहाँबाट छानिएका  १४ सय जनाको नाम प्रतीक्षा सूची (रोस्टर) मा राखिने छ । उक्त नामावली अनुसार इजरायलले नै उक्त लिस्टबाट कामदार बोलाउने छ। भिसा दिने र नदिने भनेर निर्णय गर्ने जिम्मा इजरायल सरकारको नै हुने विभागले जनाएको छ ।

७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रोजगारीका लागि जान पाउँछन्। इजरायलले १ हजार जना लैजाने भए पनि रोस्टरमा १४ सयको नामावली माग गरेको छ । तर रोस्टरमा भएका ४ सयलाई फेरि बोलाउने नबोलाउने केही सहमति नभएको विभागको भनाइ छ ।

रोजगारीका लागि इजरायल जाने केयर गिभरको भिसा अवधि सुरुमा एक वर्षको हुने र पछि पाँच वर्षसम्म अवधि बढाउन सकिन्छ । इजरायलमा पाँच वर्ष बिताइसकेपछि भने अनिवार्य रूपमा स्वदेश फर्कनुपर्ने विभागको भनाइ छ ।

तलब झन्डै दुई लाख

इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर अर्थात् झन्डै एक लाख ९० हजार रुपैयाँ छ । तर उक्त रकमबाट आय कर, स्वास्थ्य बिमा बापतको रकम इजरायल सरकारलाई बुझाउनुपर्छ ।

यस पटक पाँच सयको सहमति भए पनि एक हजार जना रोजगारीका लागि इजरायलले माग गरेको हो। एक हजार पठाएपछि केयर गिभरभन्दा अन्य क्षेत्रमा समेत लैजाने तयारी भएको विभागका महानिर्देशक दवाडी बताउँछन् । यो समाचार खबर सेन्टरबाट साभार गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्