आजबाट माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिवार वाट सुरु हुने भएको छ।

आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवाद विरुद्धको सङ्घर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहालको राजनीतिक तथा सांगठानिक प्रतिवेदन आउनेछ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्।

शुक्रवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अव को चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्