प्रदेश ५ मा पूर्णबहादुर घर्ती सभामुखमा निर्विरोध निर्वाचित



बुटवल — प्रदेश ५ को दोस्रो बैठकले सभामुखमा पूर्वी रुकुमका सांसद पूर्णबहादुर घर्तीलाई निर्विरोध निर्वाचित गरेको छ । सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले बुधबार बसेको बैठकले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्तीलाई निर्वाचित गरेको हो ।

प्रदेशसभा ५ को प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ अनुसार बैठकका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । बैठकमा घर्तीलाई निर्वाचित गरियोस भनी माओवादीका प्रमुख सचेतक दधिराम न्यौपानेले प्रस्ताव र एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले समर्थन गरेका थिए ।
बैठक १६ मिनेट चलेको थियो । संसदको अर्को बैठक उपसभामुखको समेत निर्वाचन गर्ने गरी फागनु ६ गते आइतबार बस्ने छ । उपसभामुख भने नेकपा एमालेले बनाउने सहमति छ ।
त्यस्तै प्रदेश प्रमुखको कार्यालयले आज नै मुख्यमन्त्री नियुक्तिको तयारी गरेको छ । सभामुखको सपथग्रहणका लागि साढे ४ बजेको समय तय भएको छ । सँगै मुख्यमन्त्री नियुक्तिको पनि तयारी भइरहेको एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिएका छन् । मुख्यमन्त्रीको सपथग्रहण भने भोलि हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्