कपिलवस्तु । कपिलवस्तु प्रहरीले सक्रिय रूपमा फरार अपराधीलाई पक्राउ कार्यक्रमलाई सुरुवात गरेको ४ दिन भित्रमै २०७ जना फरार प्रतिवादिहरु पक्राउ गरेको छ। फरार पक्राउ कार्यक्रम को सुरुवातीको ४ दिनमै २०७ जना विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरू जिल्ला प्रहरी ले पक्राउ गरिएको हो। जसमा गत २६ गते मङ्गलवार ८१ जना, २७ गते बुधवार ७४ जना, २८ गते बिहीबार २२ जना र २९ गते शुक्रवार ३० जना गरी २०७ जनालाई प्रहरी फन्दामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी उपरीक्षक दान बहादुर कार्किले जानकारी दिनुभयो ।
लुटपिट र जालसाजी मुद्दामा २०५९/०२/१६ गते र २०५९/०३/३१ गतेको फैसलाले दोषी ठहरिएका २ जनालाई फैसलाको १९ बर्सपछि पक्राउ गरी सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उस्तीत गराइएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो। बिहीबार सवारी ज्यान-३ जना, लुटपाट-२ जना, जालसाजी-२ जना, बनपैदवार, अंश, कुटपिट आदि गरी २२ जना पक्राउ परेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । त्यस्तै बिहीबार नै १० वर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ वर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा नगरपालिका २ का सुरज बेल्बासे पनि पक्राउ परेका हुन् , वन सम्बन्धित कसुर गरी जनहि १ वर्ष कैद र २४,७०७ जरिबाना फैसला भएर वर्षौँदेखि फरार बाणगंगा नगरपालिका १ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो।
साथै बिहीबार जम्मा ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर गरिएको छ । शुक्रवार ३० जना फरार प्रतिवादी पक्राउ गरी सजायँ भुक्तानको लागि उपस्थित गराइएको छ। जालसाजी-२ जना , सवारी ज्यान-१ जना, लागू औषध-१ जना, कुटपिट -१३ जना आदि गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादी पक्राउ गरिएको हो।
शुक्रवार सबैभन्दा बढी पक्रनेमा क्रमशः वडा प्रहरी कार्यालय चन्द्रौटा, इलाका प्रहरी कार्यालय गोरुसिङ्गे, कृष्ण नगर, पिपरा, गणेशपुर र पकडी रहेका छन् । उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपश्चात् फरार पक्राउमा सकृयता आएको प्रहरी निरीक्षक शङ्कर आचार्यले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक कार्की भन्नुहुन्छ “अपराध गरेर समाजलाई दूषित पारेर त्यहीँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन बरु अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याइ छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीव्रता दिएका हौँ” ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।