नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको सङ्ख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारे स्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो सङ्ख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रुम (कोठा) सङ्ख्या ८ हजार ५९५ रहेको छ, भने बेड अर्थात् शय्या सङ्ख्या १३ हजार ८७७ रहेको छ । यी होटेलहरूमा ३ हजार ५३२ जनाले रोजगारी पाएका छन् । पर्यटकीय स्तरका होटेलहरूको सङ्ख्या १ हजार १७१ छ । विभागका दर्ता भएका तारा स्तर र अन्य गरी कुल १ हजार ३१३ होटेल रहेका छन् भने यिनीहरूको कुल बेड सङ्ख्या ४५ हजार ८५० रहेको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जिसीले यो सङ्ख्या विभागमा दर्ता भएका होटेलहरूको मात्रै हो । ठुलो सङ्ख्याका होटेलहरू विभागसम्म आई नसकेको उनले बताए । विभागमा दर्ता नभए पनि होटेल व्यवसाय सञ्चालन गर्न पाइन्छ । होटेल व्यवसायीहरूले स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएर हस्पिटालिटी सेवा उपलब्ध गराउन सक्छन् । ‘तारे स्तरको मान्यता लिनका लागि विभागमा दर्ता हुनै पर्छ,’ जिसीले भने, ‘तर, सञ्चालन गर्नका लागि अन्य निकायमा दर्ता भए पनि हुन्छ ।’यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।