काठमाडौँ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ ।
अफगानिस्तानका अधिकांश सहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो ।
अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिबान लडाकुहरूको ठुलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरू हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।
तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौँ ।’
विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप नगर्न उनले चेतावनी दिएका छन् । तालिबान काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।