काठमाडौँ । अमेरिकामा बस्ने नेपालका तराईवासीहरूको संस्था एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यस वर्ष हुने आफ्नो छैटो महाधिवेशन स्थगित गरेको छ ।
हालै प्रेस विज्ञप्ति जारी गरेर एन्टाले कोरोना महामारीको विषम परिस्थितिका कारण यस वर्ष हुने महाधिवेशन स्थगित गरिएको जनाएको छ । विज्ञप्तिमार्फत नै एन्टाले महाधिवेशन अर्को वर्ष अर्थात् सन् २०२२ मा सम्पन्न गरिने जानकारी पनि दिएको छ ।
एन्टाका अध्यक्ष अपराजिता झाले अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको बढ्दो प्रकोपको कारण यस वर्षको महाधिवेशन स्थगित गरिएको जानकारी दिएकी छन् ।
कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको बढ्दो प्रकोपका साथै एन्टाका सदस्यहरू नेपालको तराई क्षेत्रमा राहत वितरण कार्यमा नियमित रूपमा व्यस्त रहेकाले यस वर्ष महाधिवेशन आयोजना गर्न असम्भव रहेको झाले जनाएकी छन् । उनले आउँदो नोभेम्बर महिनामा वार्षिक बैठक बसेर सन् २०२२ मा गरिने महाधिवेशनको मिति र स्थान तय गरिने जानकारी दिइन् ।
एन्टाको विधानअनुसार यसको महाधिवेशन प्रत्येक दुई वर्षमा हुने गर्दछ । सन् २०१९ मा सम्पन्न एन्टाको पाँचौँ महाधिवेशनले अध्यक्ष झाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको थियो । एन्टाले पहिलो पटक नेपालको पश्चिम तराईलाई आफ्नो कार्यसमितिमा स्थान दिएको छ। कोरोना महामारीमा एन्टाले पश्चिम तराईको बर्दिया, नेपालगंज , तौलिहवामा राहत कार्यक्रम आयोजना गरेको थियो। साथै अवधि समाजलाई एन्टा सित जोडनको लागि चार हप्ते अवधि वेबिनार आयोजना गरेको थियो जस्ले अवधलाई अमेरिकामा रहेका अवधि प्रवासी अमेरिकनहरू सित जोडन सहयोगी रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।