काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार बिहान विमानस्थलमा मुलुक छाड्नेको ठुलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।
तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरू बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।
डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
अहिले हजारौँको सङ्ख्यामा अफगानी नागरिकहरू पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरूको ठुलो भीड देख्न सकिन्छ ।
समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यावसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।