साइकल वितरणमा विभेद, भारतीय भन्दै साइकल नदिएपछि धुरुधुरु रोइन् छात्रा रागिनी खातुन



जनकपुरधाम : आइतबार जनकपुरधाम उपमहानगरपालिका–९ स्थित जानकी माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत ३२ छात्रालाई साइकल बाँडियो । प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत बाँडिएको साइकल पाउँदा छात्राहरू खुसीले गद्गगद् थिए ।

तर, सोही कक्षामा अध्ययनरत रागिनी खातुन भने धुरुधुरु रुन थालिन् । कारण थियो, उनलाई भारतीय भन्दै साइकल दिइएन । छात्रालाई साइकल हस्तान्तरण गरेका थिए, जनकपुरधामका मेयर लाल किशोर साहले । कार्यक्रममा उपमेयर रित मिश्र पनि सहभागी थिइन् । विभेदविरुद्ध चर्को आवाज उठाउने मिश्रले पनि खातुनको पीडा देखेको नदेखेकै गरिन् ।

‘म भारतको हुँ भनेर साइकल दिइएन । तर खाजा किन दियो रु’ खातुनले रुँदै प्रश्न गरिन्, ‘निजी विद्यालयमा पढ्नेहरू सरकारी विद्यालयबाट सुविधा लिन्छन्, तर सधैँ पढ्न आउने मसँग किन विभेद ?’

खातुनको बुवा लामो समयदेखि जनकपुरमा सिरक डसना बनाउने काम गर्छन् । खातुनको जन्म भने जनकपुरमै भएको बताइएको छ । तर बुवा भारतीय नागरिक भएकाले खातुनको जन्म दर्ता भएको छैन । उनले विद्यालयमा भारतीय आधार कार्ड पेस गरेकी छन् ।

विद्यालयका शिक्षक गौरीशङ्कर लाल कर्णका अनुसार साइकल लिन मुख्यमन्त्री कार्यालयमा छात्राको जन्म दर्ता पेस गर्नुपर्छ । रागिनी खातुनसँग जन्म दर्ता छैन । भारतीय आधार कार्ड पेस गरेका कारण उनका लागि मुख्यमन्त्री कार्यालयले नै साइकल नदिएको शिक्षक कर्णको भनाइ छ ।

भारतको आधार कार्डको आधारमा नेपालको विद्यालयमा पढ्न पाउने कानुनी व्यवस्था छ । तर पढ्ने सुविधा छ भने अन्य सुविधाबाट किन वञ्चित हुनुपर्ने भन्ने प्रश्न उठेको छ । सन्तोष यादवले लेखेको यो समाचार नेपाल प्रेसबाट साभार गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्