म कसरी “अछुत” भएँ ?



म नछुँदासम्म तिम्रो देउता नबन्ने ।
म काम नगर्दासम्म तिम्रो चुल्हो नबल्ने ।
मैले बनाएको गहनामा तिमी सजिने।
मैले उब्जाएको अन्नमा तिमी बाँच्ने।
मैले बनाएको सन्दुकमा सम्पत्ति साँच्ने।
मैले बनाएको मादलमा तिमी नाच्ने।

म कसरी ” सानो ” भएँ ?
आफै भोको बसे पनि तिमीलाई खुवाउँछु।
पसिना बगाएर तिमीलाई धनी बनाउँछु।
आफै झुपडीमा बसेर तिम्रो महल बनाउँछु।
आफै झुत्रो लाएर तिम्रो सुट सिलाउँछु।
म नै मतदान गरी कुर्सीमा बसाउँछु।
आफै शासित भएर तिमिलाई शासक बनाउँछु।

म किन “गरिब” भएँ ?
तिम्रो खेतमा म नै जोतिन्छु।
खाडीमा पनि म नै घोटिन्छु।
म गरिब बनेको होइन बनाइएको हुँ।
शूद्रलाई धन वर्जितको नियम अपनाएको हुँ।

म कसरी ” उग्र ” भएँ ?
हक खोसेको होइन आफ्नो खोजेको मात्रै हुँ।
अन्याय गरेको होइन न्याय रोजेको मात्रै हुँ।
मौन व्रत तोडेर आज बोलेको मात्रै हुँ।
तिम्रो कुकर्मको विरुद्ध मशाल बालेको मात्रै हुँ।
मलाई उग्र भन वा अरू केही —- फरक पर्दैन ।
तिम्रो बर्बरताको विरुद्ध उठेको क्रान्ति अब रोकिँदैन।

(माननीय सांसद रामपृत पास्वनको फेसबुकबाट)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्